काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। मदिरा नीतिमा भएको अनियमितताको आरोपमा उनलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ईडीको टोलीले सर्च वारेन्ट लिएर केजरीवालको घरमा गएको थियो। त्यहाँ दुई घन्टा सोधपुछपछि राति केजरीवाललाई पक्राउ गरिएको बताइएको छ। उनलाई बिहीबार बिहान पुनः सोधपुछका लागि ईडीको कार्यालय लगिएको छ।
मुख्यमन्त्री केजरीवाल पक्राउ परेपछि दिल्लीकी शिक्षामन्त्री आतिशी ने प्रतिक्रिया दिएकी छिन्। उनले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाटै सरकार चलाउने बताएकी छिन्। आम आदमी पार्टीको कानुनी टोलीले पनि सर्वोच्च अदालतमा अपील गरी तत्काल सुनुवाइ गर्न माग गरेको छ।
बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारी रोक्न नमिल्ने भन्दै निवेदन खारेज गरेको थियो। केजरीवालले आफूलाई गिरफ्तार नगर्न ईडीलाई आश्वासन मागेका थिए तर अदालतले उनलाई ईडीमा हाजिर हुनुपर्ने बताएको थियो।
ईडीले केजरीवाललाई मदिरा नीति मुद्दामा यसअघि पटक-पटक समन गरेको थियो। तर उनी सोधपुछमा हाजिर हुन अस्वीकार गर्दै आएका थिए। यस घटनाबारे दिल्लीमा राजनीतिक गतिविधि बढेको छ भने आम आदमी पार्टीका कार्यकर्ता पनि सडकमा आन्दोलित भएका छन्।



