काठमाडौं| गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले फेसबुक पोस्टमा नेपाली कांग्रेसका नेताहरूलाई सार्वजनिक बहसको चुनौती दिएका छन्। उनले आफू माथि लगाइएका आरोपहरूको खण्डन गर्न र सुर्यदर्शन सहकारी घोटालाको मुद्दामा आफ्नो निर्दोषिता प्रमाणित गर्न सार्वजनिक बहसको माग गरेका हुन्।
लामिछानेले भनेका छन्, “तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरू र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौं-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला। यो बहस लाइभ गरौं ताकि सिङ्गो देशले हेरोस्।”
उनले आफू सुर्यदर्शन सहकारी घोटालासँग सम्बन्धित नभएको र मुद्दामा पनि प्रतिवादी नबनाइएको दाबी गरेका छन्। सहकारीका पीडितहरूलाई न्याय दिलाउने प्रतिबद्धता समेत उनले जनाएका छन्।
नेपाली कांग्रेसका नेताहरूलाई “स्तरहीन राजनीति” गरेको आरोप लगाउँदै लामिछानेले उनीहरूलाई “सशक्त प्रतिपक्ष” बनेर जनतामाझ जान र रचनात्मक दवाब दिन चुनौती दिएका छन्। “यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्त होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठालाई शोभा दिँदैन,” उनले भनेका छन्।
हालसम्म नेपाली कांग्रेसका नेताहरूबाट यस विषयमा प्रतिक्रिया आएको छैन। लामिछानेको चुनौतीले राजनीतिक गतिविधिलाई थप तरंगित बनाउने देखिन्छ।