Monday, May 19, 2025
राजनीतिराप्रपाको सिंहदरबारभित्र प्रदर्शन : अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ, साँझमै रिहा
spot_img

राप्रपाको सिंहदरबारभित्र प्रदर्शन : अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ, साँझमै रिहा

spot_img

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार राजधानी काठमाडौंस्थित सिंहदरबारभित्रै निषेधित क्षेत्र उल्लंघन गर्दै राजतन्त्रको पक्षमा प्रदर्शन गरेको छ। सो क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले प्लेकार्डसहित नाराबाजी गर्दै सरकारको विरोधमा आवाज उठाएका थिए।

राप्रपाले यो प्रदर्शन सिंहदरबारभित्रै — जुन क्षेत्र निषेधित घोषित छ — आयोजना गरेर सरकार, आम जनसमुदाय र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने रणनीतिमा आधारित रहेको जनाएको छ। सिंहदरबारको प्रांगणमा प्रदर्शन गर्नु कुनै आकस्मिक निर्णय नभई योजना अनुसार गरिएको कार्यक्रम भएको अध्यक्ष लिङ्देनले बताए।

प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर अर्याल र किरण दुवाललाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका नेताहरूलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको छ।

सिंहदरबारबाट जोगिएर प्रदर्शनस्थल पुगेका राप्रपा सांसद दीपकबहादुर सिंहले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, “हामी मिल्ने हो भने व्यवस्था अहिले नै परिवर्तन हुन्छ।” उनले गणतन्त्रको नाममा लुटतन्त्र संस्थागत भइरहेको आरोप लगाउँदै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिए।

राप्रपाका अर्का उपाध्यक्ष तथा सांसद विक्रम पाण्डेले भने, “हामीले शान्तिपूर्ण जुलुस गर्‍यौं। सरकारले धरपकड गरेर असहिष्णुता देखायो।” उनका अनुसार पार्टीको आन्दोलन क्रमिक रूपमा अगाडि बढ्नेछ।

पक्राउ परेका नेताहरूको रिहापछि राप्रपाले आकस्मिक बैठक डाकेर सरकारको व्यवहारलाई “अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजमाथिको निरंकुशता”को संज्ञा दिएको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राजनीतिक गतिविधिमा स्वतन्त्रता, हिँड्डुलको अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ। राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट प्रतिवाद गर्नेछ।”

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपाका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए। त्यसपछि सरकारले प्रेस विज्ञप्ति निकालेर संविधानबाहिरका गतिविधि भए कडा कारबाही हुने चेतावनी दिएको थियो।

यसबारे अध्यक्ष लिङ्देनले भने, “सरकार र गणतन्त्र यति कमजोर छन् कि धेरै टिप्पणी गर्नै मन लाग्दैन। हामी कुनै षड्यन्त्र गरिराखेका छैनौं, खुल्ला रूपमा आन्दोलन गरिरहेका छौं।”

उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाममा लुटतन्त्र चलिरहेको दाबी गर्दै, “हामी भद्र अवज्ञाका रूपमा आन्दोलन गर्छौं। सिंहदरबारभित्रको आजको प्रदर्शन सन्देशमूलक छ,” भनेका छन्।

यसैबीच, चैत १५ गतेको तीनकुने राजावादी प्रदर्शनपछि पक्राउ परेका राप्रपा महामन्त्री तथा सांसद धवलशमशेर राणालाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। गिजाको क्यान्सरको उपचार गराइरहेका राणालाई थप स्वास्थ्य परीक्षणको आवश्यकता देखिएपछि सरकारी वकिलको सहमतिमा रिहा गरिएको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, राणाविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img