काठमाडौं । एक वर्षअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका शब्दहरू आज राजनीतिक वास्तविकतामा परिणत भएका छन्। २०८१ भदौ ८ गते काठमाडौंमा आयोजित युथ कन्क्लेभमा सहभागीहरूको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, “म छिट्टै महिला प्रधानमन्त्री बनाउने तयारीमा छु।” त्यो बेला उनका कुरा फरक राजनीतिक सन्दर्भमा आएका थिए, तर अहिले सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।
ओलीले त्यतिबेला महिला प्रधानमन्त्री बनाउन चाहेको तर त्यसका लागि केही तयारी आवश्यक हुने उल्लेख गरेका थिए। उनका अनुसार दुई–तीन महिनामा सहजै महिला प्रधानमन्त्री बनाउन सकिने अवस्था नहोला, तर छिट्टै त्यो दिन आउनेछ भन्ने सोच राखेका थिए। राजनीतिमा भविष्यवाणी प्रायः मिल्दैन भन्ने धारणालाई बेवास्ता गर्दै ओलीको भनाइ यति छोटो समयमै यथार्थ बनेको छ।
भदौ २३ गते माइतीघरमा सुरू भएको जेन–जी युवाहरूको आन्दोलनलाई प्रहरीले बल प्रयोग गरेर दमन गर्दा १९ जनाको ज्यान गएपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। आन्दोलनमा ज्यान गुमाउनेको संख्या अहिले सम्म ५१ पुगेको छ। यही आन्दोलनकै चाप र परिस्थितिबाट जन्मिएको राजनीतिक परिणामस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्।
कार्कीलाई प्रधानमन्त्री बनाउन आन्दोलनमै सक्रिय युवाहरूले सिफारिस गरेका थिए। यसरी उनलाई अघि सार्ने प्रक्रिया जेन–जीको आन्दोलनकै बलियो राजनीतिक उपलब्धि बनेको छ। यद्यपि, यस घटनामा पनि ओलीको भूमिका अप्रत्यक्ष भएन। राजनीतिक उथलपुथलका बीचमा महिलालाई पहिलोपटक प्रधानमन्त्री बनाउनुपर्ने प्रसंग ओलीकै राजीनामापछि सम्भव भएको हो। रोचक संयोग त यो पनि हो कि कार्कीको नियुक्तिमा निवर्तमान प्रधानमन्त्रीका रूपमा ओलीकै सिफारिस र सम्मति रहेको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि यही कुरा स्पष्ट गरिएको छ। विज्ञप्ताअनुसार मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्दै राष्ट्राध्यक्षको हैसियतमा प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो। संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सर्तसहित कार्कीलाई नेतृत्वको जिम्मेवारी दिइएको उल्लेख छ।
शपथलगत्तै कार्कीले संसद विघटनको सिफारिस गरिन्, जसलाई राष्ट्रपति पौडेलले अनुमोदन गरेका छन्। फागुन २१ गते नयाँ निर्वाचन हुने घोषणा भइसकेको छ। यससँगै मुलुक नयाँ राजनीतिक यात्रातर्फ अग्रसर भएको छ।
युथ कन्क्लेभमा ओलीले आफूले पहिलो महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको दाबी गरेका थिए। विद्यादेवी भण्डारी २०७२ देखि २०७९ सम्म दुई कार्यकालसम्म राष्ट्रपति बनेकी थिइन्। ओनसरी घर्ती २०७२ असोज २९ देखि २०७४ माघ ५ गतेसम्म सभामुखको पदमा थिइन् भने सुशीला कार्की आफैं २०७३ सालमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। त्यतिबेला ओलीले गर्वका साथ भनेका थिए, “म कमसे कम यस्तो सौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो।”
त्यो भनाइलाई विस्तार गर्दै अहिले कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न पुगेकी छन्। विडम्बना होस् वा संयोग, राजनीतिक अस्थिरताका बीचमा ओलीको भविष्यवाणी नै कार्कीलाई प्रधानमन्त्री बनाउने मार्ग बनेको छ।



