काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त प्रहरी संरचनाको शनिबार निरीक्षण गरेकी छिन् ।
उनले कोटेश्वर प्रहरी प्रभाग र महाराजगन्ज प्रहरी वृत्त पुगेकी थिइन् । निरीक्षण क्रममा कार्कीले प्रहरीसँग घटनाबारे ब्रिफिङ लिएकी थिइन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आन्दोलनका बेला प्रहरीलाई ठूलो मानवीय र भौतिक क्षति पुगेको विषय कार्कीले नजिकैबाट अवलोकन गरेकी हुन् ।
दुई दिनको आन्दोलनमा तीन प्रहरीको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् । अधिकांश प्रहरी वृत्तमा आगजनी र तोडफोड हुँदा बस्ने ठाउँ, पोसाक र हतियारसमेत सुरक्षित नरहेको प्रहरीले जनाएको छ ।
‘उहाँहरूमाथि साह्रै अन्याय भएको छ भन्ने महसुस गरेर प्रधानमन्त्री निरीक्षणमा जानुभएको हो,’ स्रोतले भन्यो ।
निरीक्षणपछि कार्कीले घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही गर्ने निर्देशन दिएकी छन् । उनीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, एआइजी दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारी पनि सहभागी थिए ।
प्रहरी स्रोतका अनुसार भदौ २४ गते ठूलो क्षति हुनुको एक कारण गोली नचलाउने आदेश पनि हो । भदौ २३ गते संसद भवनतर्फ बढेको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा डेढ दर्जन युवाको मृत्यु भएपछि आलोचना बढेको थियो । त्यसलगत्तै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए ।
भोलिपल्ट भने थप मानवीय क्षति हुनसक्ने भन्दै प्रहरीलाई गोली नचलाउने आदेश दिइएको थियो । आदेशका कारण प्रहरी संरचना जोगाउन नसकिएको भए पनि हतियार मात्र जोगाएर जान निर्देशन दिइएको स्रोतको भनाइ छ ।
आन्दोलनका क्रममा प्रहरीहरू आफ्नो ज्यान जोगाउन कतै लुके, कतिलाई स्थानीयले जोगाए । ललितपुरका अधिकांश प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । तर सानेपा प्रभाग भने स्थानीयको सहयोगमा जोगाइएको थियो ।
जेनजी आन्दोलनका दुई दिनमा देशभर ५१ जनाले ज्यान गुमाएका छन्, जसमा तीन प्रहरीसमेत छन् ।



