काठमाडौं | पछिल्लो आर्थिक वर्ष ०८१–०८२ मा नेपालले मोबाइल, ल्यापटप र स्मार्टवाच खरिदमा ४४ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा २१ लाख ८४ हजार ६९४ थान मोबाइल आयात हुँदा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको थियो। मोबाइल आयातबाट मात्र सरकारले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, एक लाख २९ हजार ५९ थान ल्यापटप तथा नोटबुक आयात हुँदा त्यसमा आठ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँ खर्च गरिएको विभागले जनाएको छ।
यसैगरी, स्मार्टवाचको आयात पनि उल्लेखनीय रहेको छ। एक लाख ७३ हजार ६७८ थान स्मार्टवाचको आयातबाट २४ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सरकारले आयात घटाउने नीति लिएको भए पनि अत्यावश्यक उपभोग्य प्रविधिमा नेपाल अझै पनि आयातमा भर पर्ने स्थितिमा देखिएको छ। मोबाइल र डिजिटल उपकरणको उच्च आयातसँगै प्रविधिमा निर्भरता र खर्च वृद्धि दुबै बढिरहेको छ।



