समाजहेटौँडाका जनताको अब पुराना नेतामा छैनन् विश्वास, ९८ प्रतिशतले नयाँ नेतृत्वको अपेक्षा

हेटौँडाका जनताको अब पुराना नेतामा छैनन् विश्वास, ९८ प्रतिशतले नयाँ नेतृत्वको अपेक्षा

हेटौँडा | देशभरनै राजनीतिक असन्तुष्टि बढ्दै गएको अवस्थामा हेटौँडा उपमहानगरपालिकामा साक्षी पोलिंग एण्ड एनालिटिक्सले गरेको ताजा सर्वेक्षणले यहाँका करिब ९८ प्रतिशत नागरिकले आगामी स्थानीय निर्वाचनमा नयाँ नेतृत्व देख्न चाहेको स्पष्ट पारेको छ। यो आँकडाले वर्तमान नेतृत्वप्रति जनता कत्तिको असन्तुष्ट र नयाँ विकल्पप्रति उनीहरूको कत्तिको आकांक्षी रहेको बुझ्न सकिन्छ।

२०७८ सालको जनगणना अनुसार हेटौँडाको कुल जनसंख्या १ लाख ९३ हजार ५७६ रहेको छ भने मतदान योग्य मतदाताको संख्या १ लाख ३८ हजार ९५३ जना रहेको छ। उक्त मतदाता समूहबाट १ हजार ९३ जनाको प्रतिनिधिमूलक नमुनामा साक्षी पोलिंगले सर्वेक्षण गरेको हो। यसमा हेटौँडाका सबै वडाका नागरिकहरूलाई समेटिएको थियो।

सर्वेक्षणका अनुसार ७१.२६ प्रतिशत नागरिकलाई आफ्ना स्थानीय नेताहरूको नाम थाहा छ। यद्यपि, १९.१९ प्रतिशत जनाले राजनीति र नेताहरूप्रति चासो नराख्ने प्रतिक्रिया दिए, जसले वर्तमान नेतृत्वप्रति जनताको उदासीनता झल्काउँछ।

तर सबैभन्दा चाखलाग्दो तथ्य भनेको नेतृत्व परिवर्तनको तीव्र माग हो। सर्वेक्षणमा सहभागी ९८.१३ प्रतिशतले आगामी निर्वाचनमा नयाँ नेतृत्व आउनै पर्ने बताएका छन्। यो केवल असन्तुष्टि मात्र नभई एक ठूलो जनादेशको रूपमा हेटौँडाको राजनीतिक भविष्यमा नयाँ दिशा दिनसक्ने संकेत हो।

यस्तै, उम्मेदवार छनोटको प्राथमिकतामा ठूला परिवर्तन आएको देखिएको छ। मतदाताको ४८.३८ प्रतिशतले उम्मेदवारको व्यक्तिगत इमानदारी, नेतृत्व क्षमता र विकासदृष्टिकोणलाई दल सदस्यता भन्दा बढी महत्व दिएका छन्। ३१.३८ प्रतिशतले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने मनसाय व्यक्त गरेका छन् भने परम्परागत दलका उम्मेदवारलाई मात्र १.८३ प्रतिशतले प्राथमिकता दिएका छन्।

सर्वेक्षणले हेटौँडाका ८४ प्रतिशत नागरिक राजनीतिक दलका सदस्य नभएको र आफूलाई स्वतन्त्र मतदाता ठानेको तथ्य पुष्टि गरेको छ। यसले परम्परागत दलहरूको प्रभाव कम हुँदै गएको देखाउँछ। मतदाताहरू अब दलको नामभन्दा बढी उम्मेदवारको व्यवहार, योजना र नेतृत्व क्षमतामा विश्वास राख्न थालेका छन्।

यसैगरी, मतदान योग्य २३ प्रतिशत अर्थात करिब ३१ हजार मतदाताले अझै मतदाता परिचयपत्र बनाएका छैनन्। यस समूहको संख्याले आगामी चुनावमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावना उच्च छ। पछिल्लो चुनावमा मेयर पदमा विजेता उम्मेदवारले २३ हजार ८० मत ल्याएका थिए भने दोस्रो स्थानमा रहेको उम्मेदवारसँग मतान्तर २ हजार १०० मात्रै थियो।

सर्वेक्षणका यी तथ्यहरूले स्पष्ट देखाउँछन् कि हेटौँडाका जनताले नयाँ नेतृत्वबाट मात्र होइन, जवाफदेह, इमानदार र विकासमुखी नेतृत्वबाट आफ्नो भविष्य निर्माण गर्ने अपेक्षा राखेका छन्। आगामी स्थानीय निर्वाचनले हेटौँडाको राजनीतिक दिशा निर्धारणमा निर्णायक मोड ल्याउने देखिन्छ।

  • स्रोत: साक्षी पोलिंग एण्ड एनालिटिक्स, क्षेत्रीय सर्वेक्षण २०८२ 
Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img