हेटौँडा । २५७०औँ बुद्ध जयन्तीको अवसरमा हेटौँडा–१५ मा दुईदिने धार्मिक तथा आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ। बौद्ध शिक्षा तथा गुम्बा विकास समितिको आयोजनामा वैशाख १७ र १८ गते विविध कार्यक्रमसहित उत्सव मनाइएको हो।
कार्यक्रमअन्तर्गत वैशाख १७ गते मोलम प्रार्थना तथा दीप प्रज्ज्वलन गरिएको थियो भने १८ गते शान्ति पदयात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। पदयात्रा हेटौँडा–१५ को रातोमाटेबाट सुरु भई वडा परिक्रमा गर्दै नेमाहोइसेर गुम्बामा पुगेर समापन गरिएको थियो।
कार्यक्रममा खेन्पो कासिदोर्जे घिसिङले धर्मदेशना दिँदै भगवान बुद्धका उपदेश, ज्ञान र शान्तिको मार्गबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथि हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान रहेका थिए भने सभापतित्व संस्थाका अध्यक्ष कार्साङ योन्जनले गरेका थिए।
हेटौँडा–१५ भित्र रहेका धार्किलिङ, सङ्तोपाल्लि, टासिछेफेल, बेवाङ्कुसुम बुद्ध धर्म संघ, नेमाहोइसेर र पेमाहिइसेर गरी ६ वटा गुम्बाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको लामा गुरु हर्कारत्न लामाले जानकारी दिए।
कार्यक्रममा सहभागीहरूलाई भगवान बुद्धको जीवन, लीला र ज्ञानबारे जानकारी गराइएको थियो। आयोजकका अनुसार करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउने तथा बौद्ध शिक्षाको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।



