हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ ले शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। वडा कार्यालय तथा शैक्षिक गुणस्तर सुधार समितिले शुक्रबार पत्रकार भेटघाटमार्फत विद्यालयस्तरीय र नगरस्तरीय प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरणलगायत गतिविधि घोषणा गरेको हो।
वडा अध्यक्ष नविन सिग्देलका अनुसार सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य तथा स्वस्थ प्रतिस्पर्धा बढाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो। कार्यक्रमअन्तर्गत वैशाख १८–१९ गते जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ, जसमा १६ टिम सहभागी हुनेछन्। विजेताहरूलाई २५ हजारदेखि १० हजार रुपैयाँसम्म नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
वैशाख २७ गते आधुनिक राष्ट्रिय माविमा तेस्रो बृहत खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछ। यसअघि करिब १२ सय विद्यार्थी सहभागी भएको प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, निबन्ध, कविता र वक्तृत्वकलाजस्ता विधामा प्रतिस्पर्धा गराइएको थियो। सो अवसरमा करिब ३५० विद्यार्थीलाई पुरस्कार प्रदान गरिनेछ।
उही दिन कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरिनेछ। जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद ५ हजारसहित सम्मान गरिनेछ भने अन्य उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
आगामी जेठ १४ गते शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ। विज्ञानमा आधारित प्रदर्शनी र ‘पचास वर्षपछि हेटौँडा’ विषयक चित्रकलामा उत्कृष्ट हुनेलाई ३० हजारसम्म पुरस्कार दिइनेछ। नृत्य प्रतियोगितामा विजेतालाई २० हजार रुपैयाँसम्म प्रदान गरिनेछ।
वडा अध्यक्ष सिग्देलले वडाको कुल बजेटमध्ये ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा लगानी गरिएको दाबी गर्दै करिब १० लाख रुपैयाँ लागतमा कार्यक्रम सम्पन्न हुने बताए।



