मौसमआजदेखि तीन दिन भारी वर्षाको सम्भावना, राति जोखिमयुक्त राजमार्गमा यात्रा नगर्न सुझाव

आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, राति जोखिमयुक्त राजमार्गमा यात्रा नगर्न सुझाव

हेटौँडा | मौसमविदहरूले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी रातिको समयमा जोखिमयुक्त राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार वैशाख १५ र १६ गते वर्षाको मात्रा अझ बढ्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

मौसमविद उज्वल उपाध्यायका अनुसार आज रातिदेखि वर्षाको क्षेत्र र मात्रा दुवै बढ्दै जानेछ। काठमाडौं उपत्यकासहित वरपरका क्षेत्र तथा पूर्वी नेपालका अधिकांश भूभागमा प्रभाव देखिने उनले बताए।

“काठमाडौं उपत्यकासहित आसपासका भूभाग र पूर्वी क्षेत्रको प्रायः सबै भागमा वर्षा गराउने प्रणाली सक्रिय छ,” उनले भने, “भोलि र पर्सिसम्म पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकी क्षेत्रसम्म बेला–बेलामा वर्षा भइरहने सम्भावना छ।”

वर्षासँगै साना खोला–खोल्सामा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु मार्ग र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको यात्रा सकेसम्म टार्न मौसमविदहरूले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गतेका लागि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लालाई पहेँलो संकेतमा राखेको छ भने वैशाख १६ गते सबै सातै प्रदेशका जिल्लालाई सतर्कता सूचीमा समेटेको छ।

मौसमविद सरोज पुडासैनीका अनुसार कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुनसक्ने सम्भावना छ।

उनले बासिन्दालाई मौसमको पछिल्लो जानकारी लिएर मात्र यात्रा, कृषि तथा अन्य बाह्य गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन्।

“विशेषगरी पहाडी र हिमाली क्षेत्रका नागरिकले सतर्कता अपनाउनुपर्छ। मौसमको अद्यावधिक जानकारी लिएर मात्रै काम गर्नु उपयुक्त हुन्छ,” उनले भने।

विभागका अनुसार बुधबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी वा हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img