समाजपत्रकारितामा एआईको प्रयोगबारे कुलेखानीमा दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम

पत्रकारितामा एआईको प्रयोगबारे कुलेखानीमा दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम

कुलेखानी  । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै पत्रकारिताको स्वरूप बदलिँदै गएको सन्दर्भमा बागमती प्रदेशका पत्रकार तथा सञ्चारकर्मीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले मकवानपुरको इन्द्रसरोबर–कुलेखानीमा दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा सञ्चालन भएको “डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोग” विषयक कार्यक्रममा प्रदेशभरका पत्रकारहरूको सहभागिता रहेको छ। सूचना प्रविधिको तीव्र विकाससँगै समाचार उत्पादन, प्रस्तुति र प्रसारणको शैलीमा आएको परिवर्तनलाई बुझ्दै पत्रकारितालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासका लागि मन्त्रालय सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले अहिलेको समय एआईको भएको उल्लेख गर्दै यसको सही प्रयोगले पत्रकारितालाई अझ प्रभावकारी बनाउन सकिने धारणा राखे।

“अहिलेको समय एआईको हो, यसलाई सही सदुपयोग गर्दै आफूलाई सक्रिय राख्नुपर्छ,” मन्त्री अधिकारीले भने, “प्रविधिलाई डरको रूपमा होइन, अवसरका रूपमा लिनुपर्छ।” उनले लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणमा पत्रकारिता अग्रपंक्तिमा रहनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले अहिलेको बदलिँदो समयले पत्रकारिताको परम्परागत मोडललाई पुनर्विचार गर्न बाध्य बनाएको बताए। उनका अनुसार सूचना प्रविधिको विकासले सञ्चारको परिभाषा नै फेरिएको छ र अब पत्रकारिता केवल समाचार लेख्ने अभ्यासमा सीमित रहन सक्दैन।

“यो कन्टेन्ट क्रियटरको युग हो, हामीले गर्ने पत्रकारिताको मोडल परिवर्तन हुनुपर्छ,” उनले भने, “जब राजनीतिक प्रतिपक्ष कमजोर हुन्छ, त्यतिबेला मिडियाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ।”

उनले पछिल्लो समय सरकारी विज्ञापनमा बिचौलिया नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक भए पनि विज्ञापन वितरणमा सरकारी र निजी मिडियाबीच विभेद हुन नहुने स्पष्ट पारे। साना तथा स्वरोजगारमुखी मिडियाको संरक्षणका लागि प्रदेश सरकारले समानुपातिक विज्ञापन नीति ल्याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको पहिलो दिन एआईको आधारभूत अवधारणा, एआईमार्फत कन्टेन्ट सिर्जना, प्रम्प्ट इन्जिनियरिङ, एआई अडियो जेनेरेशनलगायत विषयमा प्रशिक्षकहरू शिव पुरी र अजय शर्माले प्रशिक्षण दिएका छन्। सहभागी पत्रकारहरूले एआई  समाचार लेखन, प्रम्ट स्क्रिप्ट तयारी, अडियो सामग्री उत्पादन तथा डिजिटल प्लेटफर्ममा सामग्री व्यवस्थापनमा एआईको प्रयोगबारे व्यावहारिक जानकारी प्राप्त गरेका छन्।

दोस्रो दिन एआई फोटो जेनेरेशन, भिजुअल स्टोरीटेलिङ तथा नेपालको न्यूज रुमको भूत, वर्तमान र भविष्यबारे विशेष सत्र सञ्चालन हुने आयोजकले जनाएको छ। पत्रकारितामा प्रविधिको प्रभाव, अवसर र चुनौतीबारे खुला छलफल समेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img