पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। समुन्द्र सतहदेखि १,५०० मिटरको उचाइमा रहेको यस स्थानलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।
पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा ५२ फिट अग्लो शिव मूर्ति छ। उत्तरतर्फ चाँदीका घेराजस्तै टल्किएका हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन्।
पर्यटकीय सम्भावना बोके पनि आवश्यक भौतिक संरचना निर्माण र पर्यटन प्रवर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। शिवको विशाल मूर्ति, भुमेश्वर महादेवको मूर्ति, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गरिएको छ।
२१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिवलिङ्ग बनाएर मूर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गर्ने गरी निर्माण गरिएको छ।
स्थानीय उत्पादन बिक्री गर्न सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ। पसल नजिकै कलात्मक ढुङ्गे धारासहित बालबालिकाका लागि खेल्ने संरचना बनाइने छ। पोखराबाट नजिकै भए पनि आवश्यक भौतिक संरचना र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको स्थानीयवासीहरू बताउँछन्।

उक्त मूर्तिलाई भारतका मथुरा निवासी विपुल अग्रवालले बनाएका हुन्। अष्टधातु जडित फाइबर ग्लासको मूर्तिलाई हिलट्यांक प्रालिका प्रबन्ध सञ्चालक, उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन्। मूर्तिलाई नेपाल भित्र्याउँदा मात्रै समितिले भन्सारमा १५ लाख रुपैयाँ शुल्क तिरेको छ। पुम्दीकोटबाट फेवाताल र समग्र पोखरा वरिपरिका भूभाग स्पष्ट देख्न सकिन्छ। एकै स्थान बसेर माछापुच्छ्रे, अन्नपूर्ण हिमालसँगै तालको मनोरम दृश्य अवलोकनका लागि उक्त क्षेत्र उत्कृष्ट गन्तव्य बन्नेमा बराल विश्वस्त देखिन्छन्।
विश्वको १३ औं रमणीय स्थलमा पर्ने हाल मूर्ति स्थापना भइरहेको पुम्दीकोट पहिले पौराणिक भूमेदेवताको स्थान थियो। त्यहाँका बासिन्दाहरू भूमेदेवतालाई पुज्दै आइरहेका थिए। चाडबाड, दशैं, तीजमा उक्त ठाउँमा मेला लाग्थ्यो। त्यसपछि सो ठाउँको विकासका लागि भुमेश्वर महादेवको मूर्ति स्थापना गर्ने योजना स्थानीयले अगाडि बढाए। समिति गठन गरी उक्त मूर्ति स्थापनाका लागि महायज्ञको आयोजना समेत गरियो।
अहिले सो क्षेत्रमा बस्ती बाक्लै बस्न थालेको छ। मूर्तिको स्थापनासँगै उक्त क्षेत्रको विकासले समेत गति पाएको देख्न सकिन्छ। सडक नपुगेको ठाउँमा सडक पुगेको छ। भइरहेको सडकलाई स्तरोन्नति गरिएको बरालले बताए। मूर्ति निर्माण पश्चात स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउने बरालको बुझाइ छ।



