हेटौँडा | बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ। करिब पाँच वर्षपछि प्रिफ्याब संरचना तयार भएको हो। यो भवन १८ महिनाभित्र निर्माण गर्ने योजना थियो। तर, निर्माण कम्पनीको ढिलाइका कारण समय पाँच वर्ष पुग्यो।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार साउन २७ गतेको बैठक नयाँ भवनमै हुनेछ। उनका अनुसार भित्री संरचना र सजावट सकिएको छ। माइक र जेनेरेटर जडान सोमबारसम्म पूरा हुने अपेक्षा छ।
भवनको शिलान्यास १० मंसिर २०७७ मा गरिएको थियो। २५० जनाको क्षमता भएको सभाहल इपीएस स्याण्डबीच प्रविधिबाट बनेको हो।
२०७७ कात्तिकमा शहरी विकास तथा भवन कार्यालय हेटौँडाले ठेक्का आह्वान गरेको थियो। अर्घाखाँची–सगुन–पारामाउन्ट जेभी कम्पनीले ठेक्का पाएको थियो। सम्झौताअनुसार २०७९ बैशाख २१ भित्र काम सकिनुपर्ने थियो। तर, कम्पनीले कोभिड–१९ महामारी र सामग्री आपूर्तिको समस्या देखाउँदै काम ढिलायो।
पहिलो चरणमा संरचना निर्माणका लागि ६ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। घटाघट विधिबाट ४ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो। तर, ढिलाइका कारण खर्च ५ करोड २९ लाख रुपैयाँ पुग्यो।
फर्निचर र फर्निसिङका लागि दोस्रो चरणमा ४ करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरियो। सम्झौता रकम ३ करोड ५३ लाख रुपैयाँ थियो। अन्ततः ३ करोड ३३ लाख रुपैयाँमा काम सम्पन्न भएको हो।
यसअघि प्रदेशसभा बैठक पुरानो क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा हुँदै आएको थियो। अब नयाँ भवनमा आधुनिक सुविधा र पर्याप्त क्षमता हुनेछ।



