काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन् । भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र हलचल नै मच्चिएको छ । विवादास्पद भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’मा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।
समाचार बाहिरिएसँगै रास्वपाका सांसदहरुले गुहमन्त्री गुरुङलाई तत्काल पदबाट राजिनामा गराउन पार्टीका सभापति रवि लामिछानेलाई दवाव दिइरहेको रास्वपानिट स्रोतले बतायो ।
सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रीहरुमाथि विभिन्न प्रश्नहरु आउन थानेपछि सभापति लामिछाने चिन्तित भएका छन् । लामिछानेले गृहमन्त्री गुरुङका बारेमा प्रधानमन्त्री बालेन्द्र साह(बालेन) सँग आजै भेटेर बर्खास्त गर्ने कि पार्टीले फिर्ता बोलाउने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
सरकार गठन हुने क्रममा नै प्रधानमन्त्री बालेन र रविबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा ठुलो मतभेद भएको थियो । रविले पार्टीको उपसभापति डोल प्रसाद अर्याल(डीपी)लाई गृहमन्त्री बनाउन अन्तिमसम्म लागेपनि बालेनले सुधनको नामबाट पछि नहटेपछि रविले सहमति जनाएको थियो । अहिले उपसभापति अर्याल प्रतिनिधिसभाको सभामुखमा चैत २२ मै निर्वाचित भइसकेका छन् ।
गृहमन्त्री गुरुङलाई राजिनामा गराएर सभापति लामिछानेले आफ्नो विश्वासपात्र दिपक बोहोरालाई गृहमन्त्रीमा अगाडि सार्न लागेको स्रोतको दावि छ । बोहोरा र लामिछाने न्युज 24 टेलिभिजनमा सञ्चालित ‘सिधा कुरा’ देखि सँगै छ्न । लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा बसेर बाेहाेराले काम समेत गरेका थिए ।
गृहमन्त्री गुरुङलाई जेनजी मुभमेन्टले पनि गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन् ।



