भोजपुर | सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ। मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिए।
उनले सात वर्षदेखि मुन्दुम ट्रेलको प्रवर्द्धन र प्रचार-प्रसार गरिरहेको र सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए। भ्रमण वर्षको लागि खानपान, बसोबास, खानेपानी, शौचालय, पार्टीपौवालगायतका सुविधा बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको जानकारी दिए।
भ्रमण वर्षको मुख्य आकर्षण गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना हुने छन्। मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्रहरू पर्दछन्। यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ।
पूर्व पर्यटनमन्त्री सुदन किराँतीले मुन्दुम ट्रेल सांस्कृतिक मार्ग भएकाले यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मुन्दुम ट्रेललाई प्राकृतिक स्वरुप नबिग्रिनेगरी विकास गर्न आग्रह गरे। रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक सङ्ग्रहालयको अवधारणाअनुसार अगाडि बढाउनुपर्ने बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म यो ट्रेलको प्रवर्द्धन हुन नसक्ने बताए। कार्यक्रममा गायक राजेश पायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउण्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको छ।
गत बैशाखमा टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव आयोजना गरिएको थियो जसले स्थानीय कृषि उत्पादन र उद्यमको प्रचार गर्यो। पूर्व पर्यटनमन्त्री किराँतीले टेम्केमैयुङलाई पर्यटन क्षेत्रमा सहयोग गर्ने बताएका छन्। गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिने भएको छ।
मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थलहरू चखेवा डाँडा, टेम्के डाँडा र मन्दिर, हाँसपोखरी र साल्पासिलिचुङ हुन्। यो करिब ८० किलोमिटर लामो पदमार्ग खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सीमा क्षेत्रमा पर्दछ। नेपाल सरकारले २०७५ मा घोषणा गरेको सय वटा गन्तव्यमा यो पदमार्ग पनि परेको थियो। त्यसयता यसको चर्चा बढेको छ र उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ।