म्याग्दी | ‘मालिकाधुरी’– एउटा यस्तो ठाउँ, जहाँ पुग्न भक्तजनलाई विगतसम्म जंगलका ओडार र टहरामा रात बिताएर, उकालो-ओरालो हिँडेर पूजाआजा गर्नुपर्ने थियो। तर, अहिले त्यसको रूप फेरिएको छ। सडक र यातायातको विकासले यो थलोमा पुग्ने यात्रा अब सजिलो मात्र होइन, रोमाञ्चकसमेत बनेको छ।
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने मालिकाधुरी हालसम्म धार्मिक दृष्टिले मात्र परिचित थियो। तर, पछिल्लो दुई वर्षमा बिस्तार गरिएको सडक सञ्जालले यस स्थानलाई ट्रेकिङ, फोटो पर्यटन र ‘वन डे ट्राभल डेस्टिनेशन’ को रूपमा उभ्याइरहेको छ।
मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालनमा आएको छ।
बिमतर्फबाट नागीथलासम्म गाडीमा जान सकिन्छ र त्यहाँबाट पैदल ३० मिनेट हिँडेर मालिकाधुरी पुगिन्छ।
ठाडाखानीबाट देउरालीसम्म गाडी चढ्न पाइन्छ र त्यसपछि ४० मिनेटको पैदल यात्रा गरेपछि पनि त्यही धुरीमा पुगिन्छ।
पहिले भक्तजनहरू अगाडै गएर जंगलभित्र ओडारमा वा टहरामा रात बिताउँथे। अब त्यो बाध्यता हटेको छ।
बेनी नगरपालिकाकी रिता केशीले भनिन्: “मैले दुई वर्ष अघि दुई दिन लगाएर मालिका पुगेकी थिएँ, यो पटक भने चण्डी पूर्णिमाको दिन बिहान ६ बजे बेनीबाट गाडी चढें र दिउँसो ३ बजे घर फर्किएँ।”
मालिकाधुरी केवल प्राकृतिक रमणीय स्थल होइन, यो म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लावासीको गहिरो आस्थाको केन्द्र हो। समुद्री सतहदेखि ३३०० मिटर उचाइमा रहेको यस स्थानमा चण्डी पूर्णिमा, भाइटीका र बालाचतुर्दशी जस्ता पर्वहरूमा विशेष पूजाआजा र मेलाहरू लाग्ने गर्छन्।
मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोका भन्छन्: “यहाँ मालिका, कालिका र जाल्पादेवीका मूर्ति छन्। भक्तजनले भाकल पूरा भएपछि परेवा र बोकाको बलि दिने चलन आज पनि जीवित छ।”
समिति अनुसार वि.सं. १९१० साल देखि यहाँ पूजाआजा सुरु भएको हो।
एकै थलोमा २० हिमशृङ्खला, ३५ गाउँ, लालीगुराँस र सूर्योदय
धार्मिकता मात्र होइन, यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिले मोहित बनाउँछ। यहाँबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि लगायत २० भन्दा बढी हिमश्रृङ्खलाको अवलोकन, म्याग्दीका ३५ भन्दा बढी गाउँहरुको दृश्य, लालीगुराँसको जंगल, वन्यजन्तु र विभिन्न चरा-पंक्षी देख्न सकिन्छ। यसैले मालिकाधुरी आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकका लागि पनि अचेटे रहन थालेको छ।
रघुगङ्गा–६ पाखापानीका भक्तिप्रसाद पाइजाले व्यक्तिगत लगानीमा यहाँ शिव र जाल्पादेवीको मन्दिर निर्माण गरेका छन्। मन्दिर निर्माणमा झन्डै ३४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ। चण्डी पूर्णिमाका दिन मात्र ४५०० भन्दा बढी भक्तजन मालिका पुगेका थिए। त्यस अवसरमा ९० हजार भेटी सङ्कलन गरिएको र खर्च कटाएर ६७ हजार रुपैयाँ बचत भएको अध्यक्ष छकप्रसाद पाइजाले बताए।
अबको बाटो: ‘धार्मिक इको–टुरिज्म’ को सम्भावना
सडक र पहुँचका कारण मालिकाधुरीको यात्रा सजिलो भए पनि अब स्थानीय तह, प्रदेश सरकार र पर्यटन बोर्ड मिलेर धार्मिक इको–टुरिज्म को नीति ल्याउने समय आएको छ।
पैदल मार्गलाई व्यवस्थित गर्न सकिन्छ, भ्यू टावर बनाइँदैछ भने स्थानीय उत्पादन–पर्यटन जोड्ने योजनाले यहाँको रोजगारी र स्थानीय अर्थतन्त्रमा प्रभाव पार्न सक्छ।
धार्मिक आस्था, ऐतिहासिक गाथा, साहसिक पदयात्रा र प्राकृतिक सौन्दर्य— यी सबै मालिकाधुरीमा एउटै ठाउँमा पाइन्छ।
अब यो ठाउँ केवल एक ‘पवित्र स्थल’ मात्र होइन, एक सकसविहीन, कम लागतमा पुगिने, गन्तव्यका रूपमा विकास हुने सम्भावना बोकेको यात्रास्थल बनिरहेको छ। सडकले जहाँ जोडे पनि, यात्रा अब अनुभवले छुट्याउँछ। मालिकाधुरी त्यसैको उदाहरण हो।
यदि तपाईं मालिकाधुरी जान चाहनुहुन्छ भने
यसका लागि वैशाखको पूर्णिमा (चण्डी) र कात्तिकको बालाचतुर्दशी सबैभन्दा उपयुक्त सिजन मानिन्छ । यो स्थान एक दिनमै गइ–फर्कन सकिने भएकाले छोटो यात्राका लागि निकै उपयुक्त छ । बिम वा ठाडाखानीसम्म गाडीमा पुग्न सकिन्छ र त्यहाँबाट झण्डै ३०–४० मिनेटको ट्रेक गर्दै मालिकाधुरी पुगिन्छ । यो यात्रा धार्मिक आस्थासँगै हल्का ट्रेकिङ, हिमाली दृश्यावलोकन र न्युचर फोटोग्राफीको लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ । साथै, मौसम सफा भएको दिनमा त्यहाँबाट सूर्योदय हेर्न पाउने अनुभव पनि अविस्मरणीय हुन्छ । गाउँलेहरूका अनुसार, यहाँ पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले पनि विशेष महत्व राख्ने कथा–कहानीहरू जोडिएका छन्, जसले यात्रालाई थप अर्थपूर्ण बनाउँछ ।



