काठमाडौं– जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।
आज गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् । उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने चेतावनी दिए ।
उनले भने, ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ। सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको छ ।’
उनले खोलाको जलस्तर बढेर अझ डुबान र बाढीको समस्या निम्तिने बताए । मनसुन सुरु भएदेखि नै आफूहरुले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख एसएमएस गरिसकेको जानकारी दिए ।
‘हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर म्यासेज गरेका थियौँ । हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर गरिसकेका छौँ । यो तीनदिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन–कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनुहोला। किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो’, उनले भने।
विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन उनको आग्रह छ।