ओखलढुङ्गा । अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । के तपाईले सोच्नु भएको थियो? अण्डाले मान्छेको ज्यान लिन्छ भनेर? पक्कै पनि थिएन तर उल्टो आज अण्डाले मान्छेको ज्यान लिएको छ ।
ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको ज्यानले गुमाएका छन् । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको छ ।
शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्कियो । श्वास फेर्न नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।



