समाज३ वर्षमा पोखरीमा डुबेर मधेसका ४ सय ८१ ले ज्यान गुमाए

३ वर्षमा पोखरीमा डुबेर मधेसका ४ सय ८१ ले ज्यान गुमाए

धनुषा | मधेस प्रदेशमा पछिल्लो तीन वर्षमा पोखरी तथा खाल्डाखुल्डीमा डुबेर ४ सय ८१ जनाले ज्यान गुमाएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार यसमध्ये सबैभन्दा बढी २ सय ८७ जना बालबालिका रहेका छन्। त्यसैगरी ४४ जना महिला र १ सय ५० जना पुरुषको मृत्यु भएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को असार २० गतेसम्म मात्रै १ सय ७० जनाको पानीमा डुबेर मृत्यु भएको छ, जसमा १ सय १३ जना बालबालिका छन्। गत आर्थिक वर्ष २०७९/८० मा १ सय ५ जना र आर्थिक वर्ष २०७८/७९ मा २ सय ६ जनाले यसरी ज्यान गुमाएका थिए।

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार, “गाउँघरमा जथाभावी पोखरी खनेर छाड्ने, माटो वा ग्राभेल खनेको खाल्डो नपुरी त्यत्तिकै छाड्ने प्रवृत्ति निकै बढी छ। यस्तो अवस्थामा ती खाल्डाहरूमा वर्षायाममा पानी जमेर सानो पोखरी नै बन्ने गर्छ।”

अधिकारकर्मी विनोद महराले भने, “जानीजानी विपद् निम्त्याउने यी खाल्डाहरूमा परेर मृत्यु हुनेहरूको अकाल मृत्यु होइन, हत्या नै भएको हो। यस्ता कुकृत्य गर्नेहरू, अनावश्यक पोखरी खनाएर छाड्नेहरूलाई कारबाही नै गर्नु आवश्यक छ।”

विशेषज्ञहरूले यस्ता दुर्घटना रोक्न राष्ट्रिय जल सुरक्षा नीति बनाउनुपर्ने र यसलाई विपद् व्यवस्थापनको मुद्दा बनाउनुपर्ने सुझाव दिएका छन्। साथै स्थानीय तहदेखि केन्द्र सरकारसम्म यस विषयमा समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मधेस प्रदेशमा कुल १८ हजार ९८ पोखरी रहेका छन्, जुन नेपालभरका पोखरीको करिब ४० प्रतिशत हो। यी पोखरीहरूको उचित व्यवस्थापन र सुरक्षा प्रबन्ध गर्न सकेमा यस्ता दुर्घटना कम गर्न सकिने विज्ञहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img