हेटौँडा | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेका तीन बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार, सोमबार साँझ तीन बालक पानी जमेको दहमा पौडी खेल्ने क्रममा डुबेका थिए। खबर प्राप्त हुनासाथ सिस्नेरी प्रहरी चौकीको टोली स्थानीयबासीको सहयोगमा उद्धार कार्यमा खटिएको थियो।
साँझ साँढे ५ बजे स्थानीय सुन्दर आचार्यका १५ वर्षीय छोरा सुशान्त आचार्य, ६ बजे काभ्रे नमोबुद्ध नगरपालिका-१० फुलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र उनका ११ वर्षीय भाइ प्रभात घोरासैनीलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको थियो ।
तर, पाटन अस्पतालमा उपचारका क्रममा राति ७:५५ बजे चिकित्सकहरूले तीनै जनालाई मृत घोषित गरेका छन्।



