हेटौँडा | बागमती प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले तोकेको बिदाका अतिरिक्त थप ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर लागू हुने गरी विशेष पर्व तथा दिवसहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेका अनुसार, प्रदेश सरकारले विगतमा पनि विशेष अवसरहरूमा सार्वजनिक बिदा दिने निर्णय गर्दै आएको थियो। तर, हरेक वर्ष मन्त्रिपरिषद् बैठक बसी बिदा निर्णय गर्नुपर्ने अवस्थालाई हटाउन अबदेखि यी बिदाहरूलाई आधिकारिक क्यालेन्डरमै समावेश गरिने छ।
मन्त्री लामिछानेका अनुसार, प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन दिवसको अवसरमा बैशाख २४ गते, गाइजात्राका अवसरमा साउन २५ गते, चेपाङ समुदायको न्वागी पर्वका अवसरमा भदौ २२ गते, र माझी समुदायको लदी पर्वको अवसरमा फागुन १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उनले सरकारको यो निर्णय प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजनिक संस्थानहरूमा लागू हुने जानकारी दिए।
यसअघि प्रदेश सरकारले विभिन्न पर्व र विशेष अवसरहरूमा मन्त्रिपरिषद् बैठकमार्फत ६ दिन बिदा दिने गरेको थियो। अब भने सरकारको निर्णय राजपत्रमा प्रकाशित गरेपछि यो कार्यान्वयनको चरणमा प्रवेश गर्ने मन्त्री लामिछानेले बताए।