हेटौँडा | पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले गणतन्त्रको रक्षा गर्नु आजको प्रमुख आवश्यकता रहेको बताएका छन्। उनले पूर्वराजालाई संकेत गर्दै भने, “मसानघाटको लाश फेरि उठाउन खोजिएको छ, तर यो सम्भव छैन।”
नेकपा एमाले मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको जागरणसभा र मोटरसाइकल ¥यालीबारे बोल्दै पौडेलले गणतन्त्रविरोधी गतिविधिहरू प्रति सचेत रहन आग्रह गरे। उनले “जनताले लुटतन्त्र होइन, सुशासन चाहेका छन्” भन्दै अहिलेको राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नुपर्ने बताए।
नेकपा एमाले मकवानपुरले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र राष्ट्रिय स्वाधीनताको पक्षमा बृहत जागरणसभा आयोजना गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू चार ठाउँ – पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो, र दक्षिणमा फरेष्ट्रिबाट र्याली निकालेर बुद्धचोकमा भेला भएका थिए।
यसैक्रममा, गणतन्त्रविरोधी प्रहारविरुद्ध जनतालाई सचेत पार्न मनहरीदेखि हेटौँडासम्म मोटरसाइकल र्यालीसमेत निकालिएको थियो। नेकपा एमाले मनहरी गाउँ कमिटीको व्यवस्थापनमा गरिएको र्यालीमा सयौं कार्यकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले “राजावादी आन्दोलनको नाममा भएको अराजकतामा संलग्नलाई कानून बमोजिम कारबाही गर्नुपर्छ” भन्ने धारणा राखे।
बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले “राजावादी अराजकताले सीमा नाघेको” टिप्पणी गर्दै गणतन्त्रको रक्षा सबै लोकतान्त्रिक शक्तिहरूको जिम्मेवारी रहेको बताए। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार जिल्लाका १० वटै पालिकाबाट नेता–कार्यकर्ताहरू हेटौंडामा जम्मा भई गणतन्त्रको पक्षमा जनचेतना जगाउने उद्देश्यले यो सभा गरिएको हो।
एमाले नेताहरूले यो सभा गणतन्त्रविरोधी षड्यन्त्र, पुनरुत्थानवादी प्रवृत्ति र अराजक तत्वहरूको विरुद्ध सशक्त सन्देश भएको दाबी गरेका छन्।



