समाजपत्रकारमाथि आक्रमणको विरोधमा महासंघको ज्ञापनपत्र, दोषीमाथि कडा कारबाहीको माग

पत्रकारमाथि आक्रमणको विरोधमा महासंघको ज्ञापनपत्र, दोषीमाथि कडा कारबाहीको माग

हेटौँडा | नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।

महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि प्रसाद हुमागाईं र मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

पत्रकारमाथि हुने आक्रमण रोक्न तथा सञ्चारमाध्यमको स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गर्दै  महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि प्रसाद हुमागाईं । 

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कारबाहीका लागि पहल गरिने बताए। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले समेत महासंघको मागलाई सम्बोधन गर्दै ज्ञापनपत्र गृह मन्त्रालयमा पठाउने र दोषीलाई कारबाही गर्न आवश्यक कदम चालिने जानकारी दिए।

चैत १६ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण गरेका थिए। घटनाप्रति महासंघले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले तत्काल गहिरो अनुसन्धान गरी संलग्न दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने माग गरेको छ।

महासंघले पत्रकारमाथि हुने आक्रमण रोक्न तथा सञ्चारमाध्यमको स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ। साथै, आक्रमणबाट क्षति पुगेका सञ्चारगृह तथा घाइते पत्रकारहरूको उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गरिएको छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा समेत दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउनुपर्ने माग गर्दै पत्रकारहरूको सुरक्षाका लागि थप प्रभावकारी नीति आवश्यक रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img