समाजतीन महिनामा ९३ ले ज्यान गुमाए, २२ बेपत्ता

तीन महिनामा ९३ ले ज्यान गुमाए, २२ बेपत्ता

हेटौँडा | यो वर्षको वैशाखदेखि असारसम्मको तीन महिनामा मात्रै देशभर दुई हजारभन्दा बढी विपतजन्य घटना भएका छन्। ती घटनामा परी ९३ जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ता छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन महिनामा २ हजार ६५ विपत् घटना भएका छन्। ती घटनामा ४४५ जना घाइते भएका छन् भने ४ हजार १३६ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

सबैभन्दा धेरै क्षति बाढीले पु¥याएको छ। बाढीका मात्रै १३७ घटना हुँदा १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। असार २४ मा रसुवाको भोटेकोसीमा आएको बाढीबाट मात्रै सबैभन्दा धेरै मानवीय क्षति भएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङले २६ जनाको, आगलागीले १४ जनाको, जनावर आक्रमणले १२ जनाको र लेक लागेर ११ जनाको ज्यान गएको छ।

अन्य हावाहुरी, सर्पदंश, भारी वर्षालगायतका कारण पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा धेरै बाढीले एक हजार २४६ परिवारलाई प्रभावित बनाएको छ भने आगलागीबाट एक हजार ४८ परिवार पीडित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, डढेलोलगायतका कारण सयौँ परिवार विस्थापित र प्रभावित भएका छन्।

प्राधिकरणले विपत् न्यूनीकरणमा सबै तहका सरकार, संघसंस्था र समुदायलाई सक्रिय बन्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img