हेटौँडा | सरकारले श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ कायम गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रममन्त्री शरत्सिंह भण्डारीले नयाँ तलब संरचना स्वीकृत गरेका हुन्।
नयाँ दरअनुसार अब श्रमिकले मासिक १२ हजार १७० रुपैयाँ आधारभूत तलब र सात हजार ३८० रुपैयाँ महँगी भत्ता पाउनेछन्। यो तलब संरचना साउन १ गते, बिहीबारदेखि नै लागू हुने गरी स्वीकृत गरिएको हो।
यस्तो छ नयाँ तलब संरचना:
- मासिक तलब: १९,५५० रुपैयाँ
- दैनिक तलब: ७५४ रुपैयाँ
- प्रतिघण्टा तलब: १०१ रुपैयाँ
- आंशिक (पार्ट टाइम) प्रतिघण्टा तलब: १०७ रुपैयाँ
यसअघि श्रमिकको मासिक न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ थियो। त्यसमध्ये आधारभूत १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ निर्धारण गरिएको थियो। नयाँ संरचनामा समग्र तलब २ हजार २५० रुपैयाँले बढाइएको हो।
यस निर्णयले चियाबगानमा काम गर्ने श्रमिकलाई भने नछोएको मन्त्रालयले स्पष्ट पारेको छ। ती श्रमिकका हकमा अलग छलफल गरेर छुट्टै निर्णय गरिने बताइएको छ।
पारिश्रमिक समायोजनको निर्णय रोजगारदाता संगठन तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) का सुझावको आधारमा गरिएको मन्त्रालयको भनाइ छ।
श्रम मन्त्रालयका अनुसार विगतको अनुभव र समसामयिक आर्थिक अवस्थाको समीक्षापछि उक्त निर्णय गरिएको हो।



