काठमाडौं | नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने बाटो बन्द भएको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई मात्रै विधान महाधिवेशनको प्रतिनिधि मान्ने प्रस्ताव पारित गरेसँगै भण्डारी सहभागी नहुने निश्चित भएको हो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले १० औं महाधिवेशनको प्रतिनिधिमात्र विधान महाधिवेशनमा प्रतिनिधि बन्न सक्ने प्रावधान रहेको स्पष्ट गरे। ‘१०औं महाधिवेशनमा सहभागी नभएकाहरू प्रतिनिधि बन्नुहुन्न,’ उनले भने, ‘त्यसमा पार्टी विधानमै व्यवस्था छ।’
१० औं महाधिवेशनका बेला राष्ट्रपतिको जिम्मेवारीमा रहेकी भण्डारीले हालै मात्र एमालेको सदस्यता नवीकरण गर्दै पार्टीमा पुनः सक्रिय सहभागिता घोषणा गरेकी थिइन्। तर, त्यसबेला प्रतिनिधि नहुँदा उनी विधान महाधिवेशनको प्रतिनिधिमा पर्न नसक्ने भएको हो।
सचिवालय बैठकले पार्टीका १९ जना पदाधिकारीको संख्यासमेत घटाउने निर्णय गरेको छ। विधान संशोधन प्रस्तावमाथिको छलफलपछि यो व्यवस्था हटाइने निष्कर्षमा पुगेको बैठकले उमेर हद (७० वर्ष) र पदावधिको दुई कार्यकालको सीमा पनि हटाउने तयारी गरेको छ।
१० घण्टाभन्दा बढी समय बसेको बैठकमा विधान संशोधन सम्बन्धी अन्य प्रस्तावमाथि पनि छलफल भएको पार्टीले जनाएको छ।



