हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मंगलबार ३५ वर्षीय विमलमान गोपालीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो। उनलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरी अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो।
असार ५ गते बिहान भएको घटनामा ५० वर्षीया तुलुमाया गोपाली आफ्नै घरको आँगनमा मृत भेटिएकी थिइन्। प्रहरीले घटनास्थलबाट नै विमलमानलाई नियन्त्रणमा लिएको थियो। घटनामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ।
प्रहरी अनुसन्धानअनुसार, मृतक तुलुमाया र विमलमानबीच लामो समयदेखि पारिवारिक विवाद थियो। तुलुमाया लामो समयदेखि विमलमानलाई लागुऔषध र मदिरा छाड्न दबाब दिँदै आएकी थिइन्। यसै कारण उनीहरूबीच झगडा बढ्दै गएको र घटना अघिका महिनौंदेखि बोलचाल समेत बन्द भएको अनुसन्धानमा खुलेको छ। उनीहरू एउटै घरमा अलग चुलोमा बस्दै आएका थिए।
घटनाका बेला तुलुमाया घरको आँगनतिर निस्कँदै गर्दा विमलमानले खुकुरी प्रहार गरेका थिए। घाइते तुलुमायाको घटनास्थलमै मृत्यु भएको थियो।



