काठमाडौं | देशभर मनसुनी वायुको प्रभाव तीव्र बन्दै गएपछि अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार, आगामी तीन दिनसम्म धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य भन्दा केही उत्तरतर्फ खस्रिएको छ। यसको प्रभावले हाल देशभर आकाश साधारणतया बदली छ। आइतबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा मापन भएको छ।
२४ घण्टाको पूर्वानुमान र चेतावनी
महाशाखाका अनुसार, आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म सबै प्रदेशका पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम उच्च रहने चेतावनी दिइएको छ।
महाशाखाले नदी र खोला–नालाको सतह अचानक बढ्न सक्ने, ग्रामीण र शहरी बस्तीमा डुबानको खतरा रहने, सडक तथा हवाई यातायात अवरुद्ध हुनसक्ने र कृषि, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा असर पर्नसक्ने बताएको छ। “आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण, स्थानीय निकाय तथा सरोकारवाला निकायलाई आग्रह गरिन्छ,” महाशाखाले भनेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। तराईका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेशमा पनि तराईका धेरै स्थानमा वर्षा हुने र केही स्थानमा मेघगर्जनसहितको भारी वर्षाको जोखिम देखिएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा पनि भारी वर्षाको चेतावनी दिइएको छ। तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
सोमबार र मंगलबार पनि देशका अधिकांश स्थानमा वर्षा जारी रहनेछ। सोमबार कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा मध्यमदेखि भारी वर्षा हुने देखिएको छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। मंगलबार मौसम सामान्यतया बदली रहने र धेरै स्थानमा वर्षा दोहोरिने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले सम्भावित विपद् व्यवस्थापनका लागि स्थानीय निकाय, आपतकालीन सुरक्षा निकाय र नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।



