हेटौँडा | २५-२५ गज सडक विस्तारको विरोधमा हेटौंडाका घरधनीहरूले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका पीडितहरूले सडक डिभिजनले सर्वोच्च अदालतको आदेश विपरीत घरहरू भत्काएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
उनीहरूले जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेका थिए।
एका बिहानै डोजर चलाएर घर भत्काइनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । प्रभावितहरु आफ्नो लालपुर्जासहित प्रदर्शनमा उत्रिएका थिए ।
सडक डिभिजनले हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ अनुसार मंसिर २० गते सीमा क्षेत्रमा परेका संरचनाहरू भत्काएको थियो ।
डिभिजनले शनिबार एकैदिन करिब ५ सयभन्दा बढी संरचना भत्काएको थियो । यद्यपि, सर्वोच्च अदालतले मंसिर १९ गते सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश जारी गरेको थियो ।
मंसिर २१ गते आदेश प्राप्त भएपछि सडक विस्तार कार्य हाल स्थगित गरिएको छ ।



