भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको बिहीबार १६ वर्ष पूरा गरी १७ औ वर्षमा प्रवेश गरेको छ। विक्रम संवत् २०६६ भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएसँगै पछिल्ला वर्षहरूमा भारतीय पर्यटकहरूको विशेष आगमन रहने गरेको जनाइएको छ । नेपाली भन्दा भारतीय रुपैयाँ बढी भेटी उठने गरेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले जानकारी गराएको छ । समितिका अध्यक्ष धर्मराज बस्नेतले पछिल्ला वर्षहरूमा नेपाली भन्दा भारतीय रुपैयाँ भेटी बढी उठने गरेको जानकारी गराए । यसको अर्थ नेपाली भन्दा भारतीय पर्यटक बढी आउँछन् भन्ने नै हो, अध्यक्ष बस्नेतले भने ।



