भरतपुर | चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यले नयाँ गति लिएको छ। लामो समयदेखि अलपत्र परेको यो परियोजना अब संघ र प्रदेश सरकारको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा पुनः शुरु भएको छ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रंगशालाको स्थलगत निरीक्षण गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिइन्। उनले भनिन्, “कामले गति लिइसकेको छ। कामदारको सङ्ख्या पनि उल्लेख्य छ। तोकिएकै समयमा रंगशाला निर्माण हुनेमा हामी विश्वस्त छौँ।” दाहालले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएको छ। भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको छ। कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको छ।
यस नयाँ चरणमा रंगशालाको डिजाइनमा केही परिवर्तन गरिएको छ। दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण गरिँदैछ। हिमालयन कालिञ्चोक बीबीआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए अनुसार हाल २ सय ५० जना कामदार कार्यरत छन्। पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनेज र दुई वटा तीन तलाको टावर निर्माण हुनेछ।
यो परियोजना शुरुमा धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा आरम्भ गरिएको थियो। तर बजेट अभावका कारण काम रोकिएको थियो। अहिले महानगरपालिकाले ७८ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरेको छ। फाउण्डेसनका अनुसार यो परियोजनाको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ अनुमान गरिएको छ।
नयाँ योजना अनुसार, पहिलो चरणमा १५ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुनेछ। यसमा पाँच वटा पिचसहितको मैदान बनाइनेछ, जसमा पानी नजम्ने नयाँ प्रविधिको प्रयोग गरिनेछ।
यद्यपि, फाउण्डेसनले जनाए अनुसार रंगशालाको १२ करोड रुपैयाँ ऋण अझै बाँकी छ। यस चुनौतीका बावजुद, स्थानीय र राष्ट्रिय सरकारको सहयोगमा परियोजना निर्धारित समयमै पूरा हुने आशा गरिएको छ।



