हेटौँडा | मकवानपुर जिल्लामा पछिल्लो तीन वर्षमा अपराधको मात्रा क्रमिक रूपमा बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ। विशेषगरी डिजिटल अपराध, लागु औषध कारोबार र भन्सार छलीका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
जिल्लामा २०७९/०८० मा ८ सय ६६ वटा मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा यो संख्या बढेर १ हजार १९ पुगेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौसम्म १ सय ६४ मुद्दा दर्ता भइसकेको छ। यो तथ्याङ्कले अपराधको अवस्था अझै गम्भीर हुँदै गएको संकेत दिन्छ। चोरी, अभद्र व्यवहार, बैंकिङ कसुर, र ज्यानसम्बन्धी घटनाहरूको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
२०७९/०८० मा १ सय ५३ वटा लागु औषध मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा १५८ पुगेको छ। यस अवधिमा मकवानपुर प्रहरीले २ सय ४९ जनालाई पक्राउ गरेको थियो ।
भन्सार छलि गरी ल्याइएका सामानहरूमा पनि प्रहरीले ठूलो मात्रामा नियन्त्रण गरेको छ। २०८०/०८१ मा ५५ करोड ६५ लाख रुपैयाँ बराबरको भन्सार छलि सामान समातिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौसम्म १ करोड ५४ लाख रुपैयाँ बराबरका सामानहरू बरामद गरिएका छन्। यस्ता सामानहरूको ओसारपसारमा संलग्न १७ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले बताए । ।
डिजिटल अपराध पनि मकवानपुरमा बढिरहेको देखिएको छ । २०७९/०८० मा १ सय ९३ वटा बिधुतिय अपराधका मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा यो संख्या ५ सय ६३ पुगेको छ। यसमा फेसबुक आईडी ह्याक, फेक आईडी बनाउने, अनलाइन ठगी लगायतका घटनाहरू रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
पछिल्लो वर्ष ४ सय ३४ वटा फेसबुक आईडी ह्याकका घटनाहरू प्रहरीमा दर्ता भएका थिए। साथै, मोबाइल चोरी तथा हराएको उजुरीमा पनि वृद्धि भएको छ, २०७९/०८० मा ७ सय ८५ उजुरी परेकोमा २०८०/०८१ मा ७ सय ३४ उजुरी दर्ता भएका थिए। यस अवधिमा १ सय ८६ वटा मोबाइल फेला परेर फिर्ता गरेको उपरीक्षक रिजालले बताए ।
प्रहरीले घरेलु हिंसा सम्बन्धी उजुरीहरूमा पनि प्रभावकारी काम गरेको छ। २०७९/०८० मा ४ सय ३२ उजुरी परेकोमा २ सय ६१ वटा मिलापत्र गरिएको थियो। २०८०/०८१ मा ३०८ उजुरी दर्ता भएकोमा १ सय ८० उजुरी प्रहरीले मिलापत्रमा परिणत गरेको छ । चालु आर्थिक वर्षको भदौसम्म ५३ उजुरीमा २५ वटा मिलापत्र गरिएको उपरीक्षक रिजालले बताए ।
तथ्यांकलाई हेर्दा मकवानपुर जिल्लामा अपराधको मात्रा बढ्दै गएको स्पष्ट देखिन्छ। लागु औषध ओसारपसार, भन्सार छलि, डिजिटल अपराध, र घरेलु हिंसा जस्ता प्रमुख अपराधहरूमा प्रहरीको सक्रियता पनि बढिरहेको छ ।
अबका तीन वर्षका लागि, यो आँकडामा आधारित अनुमान गर्दा अपराधमा अझै बढोत्तरी हुने देखिन्छ। मकवानपुरमा बढ्दो शहरीकरण, प्रविधिको पहुँच र आर्थिक अस्थिरताका कारण अपराध नियन्त्रण गर्न चुनौतीपूर्ण अवस्था आउने सम्भावना छ। प्रहरीको क्षमता विस्तार, आधुनिक प्रविधिको उपयोग, र कानूनी सुधार मार्फत यस्ता गतिविधिहरूलाई नियन्त्रणमा राख्न प्रयास गर्नुपर्नेछ।
डिजिटल अपराध, लागु औषध ओसारपसार, र भन्सार छलिका घटनाहरूलाई नियन्त्रण गर्न विशेष निगरानी आवश्यक देखिएको छ । यस्तै, नागरिकहरूलाई सचेत बनाउन तथा कानूनी व्यवस्था सुधार गर्न पनि थप पहलको आवश्यकता देखिन्छ।