शिक्षाकैलाशमा पहिलोपटक एसईई परीक्षा केन्द्र सञ्चालन, विद्यार्थीलाई निःशुल्क खाना र बासको सुविधा

कैलाशमा पहिलोपटक एसईई परीक्षा केन्द्र सञ्चालन, विद्यार्थीलाई निःशुल्क खाना र बासको सुविधा

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षा केन्द्र सञ्चालन हुने भएको छ। यसअघि विद्यार्थीहरूलाई मनहरी, थाहा, वा हेटौंडासम्म जानुपर्ने बाध्यता थियो।

आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश–९ मा रहेको कालिका माविलाई परीक्षा केन्द्र तोकिएको छ। गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार, भौगोलिक विकटताका कारण विद्यार्थीहरूलाई अध्ययन र परीक्षा दिन समस्या परिरहेको थियो। यही कठिनाइलाई समाधान गर्न गाउँपालिकाले पहल गर्दै परीक्षा केन्द्रको स्थापनाको लागि निर्णय लिएको हो।

विद्यार्थीहरूलाई परीक्षा अवधिभर कुनै असुविधा नहोस् भन्नका लागि गाउँपालिकाले विशेष व्यवस्था गरेको छ। परीक्षा दिने विद्यार्थीहरूका लागि विद्यालय परिसरमै निःशुल्क खाना र बासको सुविधा उपलब्ध गराइनेअध्यक्ष मुक्तानले जानकारी दिए ।

कालिका माविका अतिरिक्त गाउँपालिकाभित्रका पाँचवटा माध्यामिक विद्यालयका विद्यार्थीहरू पनि यही केन्द्रमा परीक्षा दिन पाउनेछन्। कैलाशका कमलादेवी मावि, भवानी मावि, व्यास मावि, धुवाङ मावि, र रत्नज्योति माविबाट परीक्षा दिन आउने विद्यार्थीहरूलाई सहजता प्रदान गर्न यो निर्णय गरिएको हो।

यसवर्ष कैलाश गाउँपालिकाबाट २१६ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन्, जसमा १४९ जना नियमिततर्फका छन् भने ६७ जना ग्रेड वृद्धिका लागि परीक्षा दिनेछन्। शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीका अनुसार, कालिका माविका विद्यार्थीहरूले भने हेटौंडा–४ स्थित भुटनदेवी माविबाट परीक्षा दिनेछन्।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार एसईई परीक्षा केन्द्रको निर्धारण गरेको हो। इकाई प्रमुख सुदीप गिरीका अनुसार, यस वर्ष मकवानपुरमा एउटा प्राविधिक विषयको परीक्षा केन्द्र र कैलाश गाउँपालिकामा थपिएको नयाँ केन्द्रसहित कुल २८ परीक्षा केन्द्र तोकिएको छ। यससँगै अब मकवानपुरका सबै १० वटै पालिकामा एसईई परीक्षा सञ्चालन गर्न सकिने भएको छ।

यस वर्ष मकवानपुरबाट एसईई परीक्षामा ५ हजार ८६५ जना विद्यार्थीले नियमित रूपमा सहभागी हुनेछन् भने १ हजार ५९१ जना विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षा दिनेछन्। कैलाश गाउँपालिकामा एसईई परीक्षा केन्द्र थपिएपछि विद्यार्थीहरूका लागि परीक्षा दिन झनै सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img