हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २:३५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३-००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएकी बारा, कोल्वी नगरपालिका–५ की ३४ वर्षीय सरिता देवी चौधरीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि डाक्टरले साँझ ३:४० बजे मृत घोषणा गरेका थिए।
यस दुर्घटनामा मोटरसाइकल चालक शिव कुमार चौधरी (३५) को दाहिने तिघ्रामा भित्री चोट लागेको छ भने उनको साडुभाइ अजय चौधरीका ५/६ वर्षीय छोरा अन्श चौधरीको दाहिने हातमा सामान्य चोट लागेको छ। दुबैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
मिक्सर ट्रकका चालक मकवानपुर, मनहरी–९, ज्यामिरेका ४९ वर्षीय धन बहादुर सुनारलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको जनाएको छ।