हेटौँडा | शिक्षा उमेरले होइन, इच्छाशक्ति र प्रतिबद्धताले निर्धारण गर्छ भन्ने जीवित उदाहरण बनेका छन्, मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल। ५२ वर्षको उमेरमा उनले पुनः क्याम्पसको ढोका खोलेका छन् र स्नातक तहको यात्रा सुरु गरेका छन्।
गत वर्ष मात्रै कक्षा १२ उत्तीर्ण गरेका खनाल मंगलबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा भर्ना भए। उनको यो कदमलाई क्याम्पस प्रशासनले विशेष स्वागत कार्यक्रममार्फत सम्मानसमेत गरेको क्याम्पस प्रमुख सुवासचन्द्र कँडेलले जानकारी दिए।
खनालले विद्यालय उमेरमा एसएलसी पास गरे पनि विभिन्न कारणले पढाइलाई निरन्तरता दिन सकेनन्। “पढ्ने रहर त सदैव थियो, तर जिम्मेवारी र परिस्थितिले रोक्यो। ४८ वर्षको उमेरमा फेरि कक्षा ११ भर्ना भएँ, त्यसपछि १२ पास गरेर अहिले ब्याचलर पढ्न थालेको हुँ,” उनले भावुक हुँदै बताए।
जनप्रतिनिधिको व्यस्ततालाई बीचमा राख्दै उनले आफ्नो अधुरो सपना पूरा गर्ने निर्णय गरेका छन्। उनका अनुसार, यसपटक पढाइ र वडाध्यक्षको जिम्मेवारी दुवै सन्तुलनमा राखेर चार वर्षे स्नातक अध्ययन पूरा गर्ने लक्ष्य छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भई पहिलोपटक वडाध्यक्ष बनेका खनाल २०७९ मा पुनः निर्वाचित भएका थिए। उनी आफैं व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा शिक्षाको स्तर उकास्ने अभियान चलाउँदै आएका छन्।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार, खनालको यो कदम गाउँमा शिक्षा सचेतना फैलाउने प्रेरणादायी उदाहरण हो। “औपचारिक शिक्षा जीवनका धेरै पक्षमा अपरिहार्य हुन्छ भन्ने सन्देश उहाँले आफ्नै जीवनमार्फत देखाउनुभएको छ,” उनले भने।



