पोखरा | पोखराको पुम्दीकोटमा अवस्थित ५२ फिट अग्लो भगवान शिवको मूर्ति पछिल्लो समय पर्यटकको मुख्य आकर्षण बनेको छ। समुद्री सतहदेखि करिब १,५०० मिटर उचाइमा रहेको यो स्थान आन्तरिक र बाह्य दुवै पर्यटकको गन्तव्य बन्दै गएको छ।
पोखरा बजारबाट १३ किलोमिटर टाढा टाकुरामा रहेको मूर्तिबाट हिमशृङ्खला, फेवाताल, सराङकोट र पोखरा शहरको मनोरम दृश्य देख्न सकिन्छ। पर्यटकहरू यहाँ केवल मूर्ति हेर्न मात्र होइन, वरिपरिको प्राकृतिक सौन्दर्य अनुभव गर्न पनि आउने गर्छन्।
पछिल्ला वर्षमा पुम्दीकोटमा भौतिक संरचनाको विकास भएको छ। यहाँ १०८ शिवलिङ्ग, गणेशको परिक्रमा मार्ग, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क र ऐतिहासिक पुम्दीकोट मन्दिर निर्माण भएको छ। साथै, स्थानीय उत्पादन बिक्रीका लागि सटर, ढुङ्गेधारा र बालबालिकाका लागि खेल क्षेत्र बनाइएको छ।
यो मूर्ति भारतको मथुराका कलाकार विपुल अग्रवालले अष्टधातु मिसिएको फाइबरग्लासबाट बनाएका हुन्। निर्माण खर्च उद्योगपति तथा समाजसेवी कमल जयनले वहन गरेका थिए। मूर्ति नेपाल भित्र्याउँदा मात्र १५ लाख रुपैयाँ भन्सार शुल्क तिरेको समितिले जनाएको छ।
पुम्दीकोट पहिले भूमेश्वर महादेवको धार्मिक स्थलको रूपमा परिचित थियो। दशैं, तीजलगायतका अवसरमा यहाँ मेला लाग्ने गर्थ्यो। अहिले मूर्तिको स्थापनासँगै सडक विस्तार, संरचना स्तरोन्नति र पर्यटन प्रवर्द्धनका प्रयासले स्थानीय जीवनस्तरमा परिवर्तन ल्याएको देखिन्छ।



