काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले समयमा तलब नपाएकोबारे अनुसन्धान सुरु गरेका छन्। दशैं, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा पनि पालिकाले तलब नदिएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले छानबिन अघि बढाएका हुन्।
‘शिक्षा मन्त्रालयले सबै पालिकालाई बजेट पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने विषयमा अनुसन्धान गर्दैछु र समाधानको उपाय खोज्दैछु,’ मन्त्री पुनले बताएका छन्।
उनका अनुसार तलब नपाएको गुनासो सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको छ। ‘मलाई वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्वमै पनि पालिकाले ढिलासुस्ती र बहाना देखाएर तलब नदिएको भन्दै पाँच सयभन्दा बढी फोन र इमेल आएका छन्,’ मन्त्री पुनले भने।



