मौसमअसोज १७ देखि मनसुनी गतिविधि थप सक्रिय, सतर्क रहन आग्रह

असोज १७ देखि मनसुनी गतिविधि थप सक्रिय, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गते (एकादशी) देखि मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी दिँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विभागले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिन हुँदै मध्य भारततर्फ सर्दै नेपाल प्रवेश गर्ने भएकाले देशभर वर्षा बढ्ने अनुमान गरिएको छ।

मौसमविद् विनु महर्जनका अनुसार यस प्रणालीका कारण जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गर्ने भएकाले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ। यस वर्षको दशैँ अवधिभर मनसुनी प्रभाव रहने देखिएको विभागले जनाएको छ।

असोज १७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई भूभागका केही स्थानमा हल्का देखी मध्यम वर्षा हुने सम्भावना छ भने एक दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ। असोज १८ गते यिनै प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ, जसमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने देखिएको छ। असोज १९ गते पनि देशका धेरै भूभागमा वर्षा हुने सम्भावना रहेको र कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा भारीदेखि अतिभारी वर्षा हुने चेतावनी विभागले दिएको छ।

मनसुनी सक्रियताका कारण बाढी, पहिरो, भूक्षय, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी निरन्तर लिनु र आवश्यक सतर्कता अपनाउनु सबैको हितमा हुने विभागको सुझाव छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img