काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगरकोटमा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट सहभागी ४० जना पत्रकारलाई सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी पत्रकारितामा नैतिकता, सहकारी कानुन, वर्तमान चुनौती तथा अवसर लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा पत्रकार यादव हुमागाईं ले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास, सहकारी क्षेत्रमा देखिएका चुनौती तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहजीकरण गरे ।
त्यस्तै, राष्ट्रिय सहकारी बैंक का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं ले सहकारीका वित्तीय सूचक, प्रतिवेदनमा आधारित समाचार लेखन, वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान तथा सहकारी संकटका वित्तीय संकेतबारे प्रशिक्षण दिए ।
यसैगरी, पत्रकार हिक्मत आचार्य ले तथ्यजाँच (फ्याक्ट चेक) को अवधारणा, मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता, तथ्यजाँच गर्ने विधि तथा भ्रामक सूचनाका प्रकारका विषयमा सहजीकरण गरे ।
कार्यक्रमको समापन समारोहमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल ले सहकारी क्षेत्रको विश्वसनीयता कायम गर्न तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले सहकारी क्षेत्रमा देखिएका विकृति र गलत प्रवृत्तिबारे निष्पक्ष र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरिन् ।
मन्त्री रायमाझीले सहकारीको सेवा प्रवाहलाई सहज बनाउन हालै ललितपुर मा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको जानकारी दिँदै अब सहकारीहरूलाई सेवा लिन प्रदेश राजधानी धाउनुपर्ने बाध्यता हटेको बताइन् । उनका अनुसार प्रदेश सरकारले मकवानपुर र ललितपुरबाट सहकारीसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
उनले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरेको जानकारी दिँदै उक्त नीति चाँडै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताइन् । नीतिअन्तर्गत रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका बागमती प्रदेशका ८ जिल्लाका विपन्न दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरिएको जानकारी दिइन् ।
उक्त कार्यक्रमअन्तर्गत लक्षित परिवारका लागि आवास निर्माण, बिउ पुँजी उपलब्ध गराउने, आयआर्जनका लागि आवश्यक सिप विकास तालिम सञ्चालन गर्ने तथा उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको मन्त्री रायमाझीको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर ले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सहकारी पत्रकारितासम्बन्धी विधागत ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष मगरले नेपाली पत्रकारिता अहिले संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै परम्परागत पत्रकारिताको प्रभाव घट्दै गएको र डिजिटल पत्रकारिता तीव्र रूपमा विस्तार भइरहेको बताए । बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूले अनुसन्धानमूलक, तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
कार्यक्रमका संयोजक तथा महासंघका सचिव काजी श्रेष्ठ ले तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था तथा जोखिम संकेत बुझ्न सहयोग पुगेको बताए । उनले सहकारीसम्बन्धी समाचारलाई अझ विश्वसनीय, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।



