फिचरएमाले नेता रामचन्द्र उप्रेतीको पार्टी परित्याग, मकवानपुर–२ को चुनावी प्रतिस्पर्धा थप रोचक

एमाले नेता रामचन्द्र उप्रेतीको पार्टी परित्याग, मकवानपुर–२ को चुनावी प्रतिस्पर्धा थप रोचक

हेटौँडा । नेकपा (एमाले) मा ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गरेलगत्तै रामचन्द्रले एमालेसँगको लामो सम्बन्ध तोड्ने निर्णय सार्वजनिक गरेका हुन् ।

रामचन्द्र उप्रेती

२०४८ सालदेखि एमालेसँग जोडिएका उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । २०४८ मा प्रथम बालसहिद अनिश शाक्यको हत्याविरुद्ध आयोजित सांस्कृतिक नाटकमा अनिशकै भूमिका निर्वाह गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै उनले अहिलेको नेतृत्वले युवाको आवाज दमन गरेको आरोप लगाए । ‘आफ्नै पार्टी नेतृत्वको सरकारले युवाको परिवर्तन चाहनालाई आतंकवाद करार गरिरहेको छ, यस्तो कार्यप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु,’ उनले भने । पार्टीभित्र व्यक्तिवाद र मनोमालिन्य हाबी भएको उनको भनाइ छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ बाट विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट लवशेर विष्ट, कांग्रेसबाट बुद्ध लामा, एमालेबाट महेश बर्तौला, प्रलोपाबाट सन्तोष विष्ट उम्मेदवार बनेका छन् । रास्वपाबाट प्रशान्त उप्रेती, उज्यालो नेपाली पार्टीबाट प्रवीण कुमार स्याङ्तान, मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान, नेशनल रिपब्लिक नेपालबाट सूर्य तामाङ बल, आम जनता पार्टीबाट सूर्य राई, नेमकिपाबाट सरोज तामाङ, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, माओवादीबाट राम घलान, राप्रपाबाट रामबहादुर थोकर, जसपाबाट छविलाल वाइवा र जनमोर्चाबाट निरबहादुर सिन्तान उम्मेदवार छन् । स्वतन्त्रतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले पनि उम्मेदवारी दिएका छन् । फागुन २१ मा हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको हो ।

भौगोलिक रूपमा विकट यो क्षेत्रमा तामाङ र चेपाङ समुदायको बाहुल्य छ । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढीका उत्तरी वडासहित कैलाश, राक्सिराङ, भीमफेदी र मनहरी गाउँपालिका यस क्षेत्रमा पर्छन् । २०४८ यता कम्युनिस्टको गढ मानिएको यो क्षेत्रमा एमालेको संगठन बलियो मानिँदै आएको छ । २०७९ को निर्वाचनमा एमालेका महेश बर्तौलाले आफ्ना गुरु मानिएका पूर्वएमाले नेता विरोध खतिवडालाई पराजित गरेका थिए । यसपटक कांग्रेस र नेकपाले नयाँ उम्मेदवार उतार्दा बर्तौला दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसबाट मकवानपुर सभापति बुद्ध लामा उम्मेदवार बनेका छन् भने नेकपाबाट थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट मैदानमा छन् । जनजाति बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीति लिएको देखिन्छ । उता, नेकपाका विष्टले मेयर हुँदा गरेका विकास, सुशासन र पारदर्शितासम्बन्धी कामको प्रभाव अझै कायम रहेको स्थानीय बताउँछन् ।

रास्वपाबाट २५ वर्ष ननाघेका प्रशान्त उप्रेती नयाँ उम्मेदवार हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको टिमसँग निकट मानिने उप्रेतीले रास्वपाको ‘क्रेज’ उपयोग गर्नुपर्ने चुनौती छ । कमजोर संगठन, विकट भूगोल र सीमित नेटवर्कका कारण प्रविधिमार्फत मतदाता पुग्न कठिन हुने देखिन्छ । यस क्षेत्रमा उज्यालो नेपाली पार्टीका प्रवीण स्याङ्तान, प्रलोपाका सन्तोष विष्टजस्ता युवा उम्मेदवारले पनि ठूला दलको मत गणनामा प्रभाव पार्ने आँकलन छ ।

बलियो संगठन, स्थानीय शक्ति सन्तुलन र नयाँ दलहरूको प्रवेशसँगै मकवानपुर–२ को निर्वाचन यसपटक रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img