हेटौँडा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्र अहिले पुनः मतदानको तयारीमा छन्। यसअघि वि.सं. २०७९ मा सम्पन्न भएको निर्वाचनका परिणामले यहाँको राजनीतिक वातावरणलाई स्पष्ट पारेको छ। मकवानपुर–२ बाट नेकपा (एमाले)का महेश कुमार वर्तौला ३४,९५० मतसहित विजयी भएका थिए, उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३०,४३२ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारहरूले भने तुलनात्मक रूपमा कम मत पाएका थिए।
साना दल र स्वतन्त्र उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली १२,०५९ मतसहित, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली २,१९६ मतसहित, नेकपा (मार्क्सवादी–लेनिनवादी) का उद्धव प्रसाद अधिकारी १,८०७ मतसहित, मंगोल नेशनल अर्गनाइजेसनका जीवन स्याङतान ४२३ मतसहित, सचेत नेपाली पार्टीका कुलेन्द्र दिप विक्रम न्यौपाने २७५ मतसहित, नेश्नलिष्ट पिपल्स पार्टीका तुला बहादुर लामा ६८ मतसहित, नेपाल मजदुर किसान पार्टीका रत्न प्रसाद प्रजापति ५३ मतसहित र स्वतन्त्र प्रदीप कालाखेती ३१ मतसहित रहेका थिए।
मकवानपुर–१ बाट भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बहादुर सिंह विजयी भएका थिए। उनले २७,८५१ मत प्राप्त गरेका थिए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) र नेकपा (एमाले) का कमल थापा क्रमशः २५,४६४ र २५,४६० मतसहित दोस्रो र तेस्रो स्थानमा रहे। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टाका राज थापाले ५,७०३ मत प्राप्त गरेका थिए।
आउँदो फागुन २१ का लागि मकवानपुर–१ र मकवानपुर–२ मा कुल ४४ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। मकवानपुर–१ बाट २३ र मकवानपुर–२ बाट २१ उम्मेदवार रहेका छन्। मकवानपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतमले उम्मेदवारी दर्ता गरेका छन्। यसै क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका रामेश्वर राना, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा का विजय गौतम, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती (रमेश), जनता समाजवादी पार्टीका दीपक सिन्तान, माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रंजना सुवाल मकजु, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा, जनता समाजवादी नेपालका रुपक लामा रहेका छन्। स्वतन्त्र उम्मेदवारमा ज्ञान सागर लामा, सुशिला सुवेदी, राजाराम बोगटी, राज कुमार खड्का, राकेश कुमार शर्मा, मठु पुलामी मगर, प्रमिला कुमारी खतिवडा, अमर दंगाल, अमिक परियार र टिका प्रसाद चौलागाईं रहेका छन्।
मकवानपुर–२ मा यसपटक रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन्। उनका प्रस्तावक सन्जिव पाठक र समर्थक शान्ति थापा विडारी रहेका छन्। यस क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका महेश कुमार वर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपा उम्मेदवार लवशेर विष्ट, राप्रपा का रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक विष्ट, श्रम संस्कृति पार्टीका युनेश लामा स्याङ्तान, जनता समाजवादी पार्टीका छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाका निर बहादुर सिन्तान, उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङ्तान, माओवादीका राम घलान, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेपाल मजदुर किसान पार्टीका सरोज तामाङ, नेशनल रिपब्लिक पार्टीका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई, मंगोल नेशनल अर्गनाइजेसनका हिरा लाल स्याङ्तान रहेका छन्। स्वतन्त्र उम्मेदवारमा अमृत बल, कृष्ण राम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल रहेका छन्।
विशेषज्ञहरूको विश्लेषण अनुसार मकवानपुर–१ मा राप्रपा, कांग्रेस र रास्वपा, जबकि मकवानपुर–२ मा एमाले, कांग्रेस र रास्वपा बीच कडा प्रतिस्पर्धा रहने देखिन्छ। मत विभाजन, स्थानीय प्रभावशाली उम्मेदवार र दलहरूको सक्रिय चुनावी अभियानले फागुन २१ गतेको मतदानलाई अत्यधिक निर्णायक र प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।



