हेटौँडा | मकवानपुरमा पछिल्लो समय ट्राफिक प्रहरीको कडाइ र सचेतनामूलक कार्यक्रमको प्रभाव देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिमा उल्लेख्य कमी आएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार चालु आवको सात महिनामा मकवानपुरमा १९६ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३२ जनाको मृत्यु र ३८६ जना घाइते भएका छन्। अघिल्लो आव २०८१–८२ मा ४०७ दुर्घटनामा ५० जनाको मृत्यु र ९६५ जना घाइते भएका थिए। तथ्यांकअनुसार दुर्घटना, मृत्यु र घाइतेको संख्या दुवै घट्दो क्रममा देखिएको छ।
ट्राफिक नियम उल्लङ्घन नियन्त्रण र सचेतना अभियानसँगै कडाइका साथ गरिएको चेकजाँचका कारण नियम पालना गर्ने चालकको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ। चालु आवको सात महिनामा ८ हजार ४१४ जना चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गरिएको छ। सो अवधिमा ७६ लाख ४६ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
‘दुर्घटना न्यूनीकरण हाम्रो प्राथमिकता हो,’ प्रहरी निरीक्षक फुयाँलले भने, ‘केवल जरिवाना उठाउने उद्देश्यले होइन, चालकको व्यवहार परिवर्तन गर्ने लक्ष्यसहित सचेतना कार्यक्रमलाई व्यापक बनाएका छौँ।’ उनका अनुसार चालु आवमा मात्रै विद्यार्थी, नयाँ चालक, यातायात व्यवसायी र कर्मचारीलाई लक्षित गरी ५४७ पटक ट्राफिक सचेतनामूलक सहजीकरण कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३९ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्।
ट्राफिक प्रहरीले सडकमा पर्चा–पम्पलेट, स्टिकर टाँस्ने, हेलमेट र सिटबेल्ट प्रयोगबारे सचेतना दिने तथा चालकको निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। यद्यपि, बढ्दो सवारी चाप, साँघुरो सडक, चालकको लापरवाही र सडकमा छाडिने पशुचौपायाका कारण दुर्घटनाको जोखिम अझै कायम रहेको प्रहरीको निष्कर्ष छ



