समाजइनर्जी ड्रिंकको बढ्दो प्रयोग: ‘एक्सट्रिम’ पेय पदार्थले स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने...

इनर्जी ड्रिंकको बढ्दो प्रयोग: ‘एक्सट्रिम’ पेय पदार्थले स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने चेतावनी

हेटौँडा |  पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय पदार्थहरूको बिक्री उल्लेख्य रूपमा बढ्दै गएको छ। आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवापुस्ता तथा किशोरकिशोरीहरूमा यस्ता पेय पदार्थको लोकप्रियता बढ्दो देखिन्छ।

तर, स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता पेय पदार्थले शरीरमा पार्ने असरबारे उपभोक्ताहरू पर्याप्त सचेत देखिँदैनन्। चिकित्सकहरूका अनुसार इनर्जी ड्रिंकको नियमित सेवनले ढिलो वा चाँडो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

हालै बजारमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ पनि भित्रिएको छ। आकर्षक प्रचार–प्रसारसहित बजारमा बिक्री भइरहेका यस पेय पदार्थको माग बढ्दो भए पनि यसको नियमित सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

के मिसाइएका छन् ‘एक्सट्रिम’ इनर्जी ड्रिंकमा?

जानकारहरूका अनुसार उक्त इनर्जी ड्रिंकमा कार्बोनेटेड वाटर, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी रेगुलेटर लगायतका पदार्थ मिसाइएको पाइन्छ। विशेषगरी ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउन सक्छ।

यसमा इ१५०डी र  इ१०४ नामक कृत्रिम रङ प्रयोग गरिएको बताइएको छ। चिकित्सकहरूका अनुसार यस्ता रङको बारम्बार सेवनले दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याउन सक्छ। विशेषगरी इ१०४ रङले बालबालिकामा अति चञ्चलता बढाउने सम्भावना भएकाले कतिपय देशहरूले यसको प्रयोगमा सीमितता समेत लागू गरेका छन्।

यसका अतिरिक्त उक्त पेय पदार्थमा क्याफिन, टाउरिन, फ्लेवर तथा विभिन्न प्रिजरभेटिभ जस्ता कृत्रिम पदार्थहरूको समेत प्रयोग गरिएको पाइएको छ।

१८ वर्ष मुनिका लागि बढी जोखिम

चिकित्सक डा. मनिष यादवका अनुसार इनर्जी ड्रिंकमा मिसाइने क्याफिन र अन्य रासायनिक पदार्थहरूले मस्तिष्कमा उत्तेजना पैदा गर्ने काम गर्छन्। उनका अनुसार यस्तो पेय पदार्थले विशेषगरी बन्दै गरेको बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पार्न सक्छ।

डा. यादवका अनुसार इनर्जी ड्रिंक सेवन गर्दा बालबालिकामा एन्जाइटी (चिन्ता), इरिट्याबिलिटी (चिडचिडापन), एजिटेसन (अत्यधिक उत्तेजना), निद्रा नलाग्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने, आक्रामक व्यवहार, हातखुट्टा काँप्ने, टाउको दुख्ने  जस्ता लक्षण देखिन सक्छन्।

उनका अनुसार १८ वर्षभन्दा मुनिका व्यक्तिका लागि यस्तो पेय पदार्थ विशेष जोखिमपूर्ण हुन्छ। विशेषगरी १५–१८ वर्ष उमेर समूहका किशोरकिशोरी जोखिममा पर्ने र १३ वर्षभन्दा कम उमेरका बालबालिकामा झन् बढी खतरा हुने उनको भनाइ छ।

@drmaniishyadav Energy Drink side effects in kids #healthylifestyle #fyp #nepal #election ♬ original sound – Just Diabetes: Dr Manish

मुटुको चालमा समेत असर पर्ने सम्भावना

डा. यादवका अनुसार इनर्जी ड्रिंकको अत्यधिक सेवनले कहिलेकाहीँ मुटुको धड्कनमा समेत असर पार्न सक्छ। बालबालिकाले नियमित रूपमा सेवन गरेमा लत (एडिक्सन) लाग्ने सम्भावना पनि रहने उनले बताएका छन्।

स्वास्थ्य विज्ञहरूले विशेषगरी अभिभावकलाई बालबालिकालाई इनर्जी ड्रिंक सेवनबाट टाढा राख्न र यस्ता पेय पदार्थको प्रयोगबारे सचेत रहन आग्रह गरेका छन्।

 

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img