शिक्षाएसईई आजदेखि, एक महिनाभित्र नतिजा ल्याउने तयारी

एसईई आजदेखि, एक महिनाभित्र नतिजा ल्याउने तयारी

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर हुँदैछ । यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्रमार्फत ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

यस पटकको एसईईमा उत्तरपुस्तिका परीक्षणसम्बन्धी नयाँ व्यवस्था लागू गरिएको छ। बोर्डले परीक्षा भएको केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्। आवश्यक परे शिक्षक अभाव वा असुरक्षा भएको स्थानमा भने अन्यत्रबाट परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

अघिल्ला वर्षहरूमा गोप्य परीक्षण केन्द्र तोक्ने तथा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने अभ्यास थियो। यसपटक भने प्रक्रिया सहज र छिटो बनाउन स्थानीय स्तरमै परीक्षण गरिने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुम्सित पोखरेलले नतिजा समयमै सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले तयारी तीव्र पारेको हो। यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेकोमा ढिलाइका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने गुनासो आउने गरेको थियो। मन्त्रालयले एसईईपछि सञ्चालन हुने ब्रिज कोर्समा समेत रोक लगाउने निर्णय गरिसकेको छ।

मकवानपुर जिल्लामा भने २८ परीक्षा केन्द्रमार्फत ७ हजार १ सय ९२ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। तीमध्ये ५ हजार ५ सय २७ जना नियमित तथा १ हजार ६ सय ६५ जना ग्रेडवृद्धितर्फका विद्यार्थी रहेका छन्। प्राविधिक धारतर्फ २ सय ६३ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ।

जिल्लाका परीक्षा केन्द्रमध्ये हेटौँडा उपमहानगरपालिकामा १५ वटा केन्द्र तोकिएका छन् भने अन्य पालिकाहरूमा पनि एक/एक केन्द्र व्यवस्था गरिएको छ। सबै केन्द्रमा आवश्यक सामग्री पुर्‍याउने तथा केन्द्राध्यक्षलाई तालिम दिने कार्यसमेत सम्पन्न भइसकेको जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img