समाजसरकारलाई स्टण्ट होइन, थिति बसाल्न सुझाव

सरकारलाई स्टण्ट होइन, थिति बसाल्न सुझाव

काठमाडौँ। राजनीतिक विश्लेषक विपुल पोख्रेलले संसद्मा धम्कीपूर्ण अभिव्यक्ति, छुद्र वचन र दम्भ प्रदर्शन गरेर सरकारको आत्मरक्षा हुन्छ भन्ने भ्रम त्याग्न सरकारलाई सुझाव दिएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो भ्रम जति छिटो त्यागिन्छ, सरकारलाई त्यति नै सहज हुने बताएका हुन्।

पोख्रेलले सरकारलाई सस्तो लोकप्रियता (स्टण्ट) भन्दा राज्यका संरचनालाई व्यवस्थित, सुदृढ र आवश्यक परिमार्जन गर्दै सुशासन स्थापित गर्न ध्यान दिन आग्रह गरेका छन्। केवल स्टण्टले प्रणाली स्थापित नहुने र नागरिकका अपेक्षा तथा समस्या समाधान गर्न संस्थागत सुधार आवश्यक रहेको उनको भनाइ छ।

उनले पछिल्लो समय बढिरहेका आत्मदाह र आत्महत्याजस्ता घटनालाई व्यक्तिको निजी निर्णयका रूपमा मात्र हेर्न नमिल्ने उल्लेख गर्दै नागरिकलाई सुरक्षित, सचेत र जिम्मेवार बनाउने दायित्व राज्यकै भएको बताएका छन्। यस्ता घटनाप्रति सरकार र सम्बन्धित निकाय जवाफदेही हुनुपर्ने उनको धारणा छ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पोख्रेलले देशभर सडक आन्दोलन चर्किंदै जाँदा प्रतिपक्षी दलहरू भने आन्तरिक विवादमा अल्झिएकोप्रति चिन्ता व्यक्त गरेका छन्। लोकतन्त्रमा सडकलाई अराजक बन्न नदिन र जनआक्रोशलाई सही दिशामा लैजान विपक्षी दलको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरू जिम्मेवार बन्नुपर्ने उनले बताएका छन्।

नेपाली जनता अभाव र कठिनाइका बीच पनि लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सत्तामा पुगेपछि लोकतन्त्रको गलत अभ्यास गर्ने प्रवृत्तिले नागरिकमा निराशा बढाएको बताएका छन्। लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै नागरिकको विश्वास कायम राख्ने दायित्व सरकार र राजनीतिक नेतृत्वको भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img