खेल समाचारअवसर पाए उनीहरू पनि सक्छन्

अवसर पाए उनीहरू पनि सक्छन्

अवसर पाए फरक क्षमता भएका खेलाडी पनि देशको झण्डा उचो बनाउन सक्छन् भन्ने सन्देशसहित बागमतीमा पहिलोपटक व्यवस्थित प्यारा खेलकुद अघि बढ्यो।

spot_img

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले दुभाषेको संकेत बुझ्दै सटल फर्काए। मूलपानी क्रिकेट मैदानमा दृष्टिबिहीन क्रिकेट खेलाडीले बलको आवाज पछ्याए। दशरथ रंगशालामा एथलेटिक्सका खेलाडीले आफ्नो शरीर र मनलाई प्रतिस्पर्धाका लागि तयार पारे। स्थान फरक थिए, खेल फरक थिए, तर सबै दृश्यले एउटै सन्देश दिए । अवसर पाए हामी पनि सक्छौँ।

पारा खेलकुदको कथा यहीँबाट सुरु हुन्छ। यो पदक, ट्रफी र जित–हारको मात्र कथा होइन। यो मैदानसम्म आइपुग्नुअघि नै शरीर, समाज, परिवार, पूर्वाधार र राज्यको उदासीनतासँग लडिसकेका खेलाडीहरूको कथा हो। कोही जन्मजात शारीरिक अवस्थाका कारण चुनौतीसँग जुधिरहेका छन्। कोही दुर्घटनापछि खुट्टाको चाल गुमाएर अघि बढिरहेका छन्। कसैले दृष्टि गुमाएका छन्। कसैले श्रवण र आवाज गुमाएका छन्। कसैको जीवन ह्विलचेयरसँग जोडिएको छ। तर यी सबै फरक अवस्थाभित्र उनीहरूलाई जोड्ने एउटै साझा शक्ति छ। हार नमान्ने आत्मबल।

बागमती प्रदेशमा पहिलोपटक व्यवस्थित रूपमा अघि बढाइएको पारा खेलकुद गतिविधिमा चार खेल समावेश भए। पारा बास्केटबल क्याम्प पद्मकन्या क्याम्पसको बास्केटबल ग्राउन्डमा, पारा ब्याडमिन्टन क्याम्प काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोला करिडोर ब्याडमिन्टन कभर्ड हलमा, पारा क्रिकेट क्याम्प क्यानको मूलपानी क्रिकेट मैदानमा र पारा एथलेटिक्स क्याम्प दशरथ रंगशालामा सञ्चालन भयो।

प्रतियोगिता संयोजक कल्पना खड्काका अनुसार प्रथम बागमती पारा खेलकुद प्रतियोगितामा चार खेल समावेश गरिएका थिए, जहाँ १२० जना खेलाडी सहभागी भए। उनका शब्दमा, यसको उद्देश्य बागमती प्रदेशभित्रका फरक क्षमता भएका खेलाडीलाई कुनै पनि सीमाले नरोक्नु हो। “साङ्ग अर्थात पूर्ण शारीरिक अवस्था भएको खेलाडीहरू मात्र होइन, शारीरिक अशक्तता भएका खेलाडीहरूलाई पनि गाउँदेखि उठाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म लैजानुपर्छ,” उनी भन्छिन्।

कल्पना आफैँ पारा खेलाडी हुँदै नेतृत्व तहमा पुगेकी पात्र हुन्। उनी अपाङ्गता भएका व्यक्तिले खेल्न सक्दैनन् भन्ने भाष्यकै कारण बजेटदेखि संरचनासम्म उनीहरू पछाडि परेको बताउछिन्। साङ्ग खेलाडीका लागि करोड बजेट छुटिँदा अपाङ्गता भएका खेलाडीका लागि लाखमै सीमित हुने अवस्था अझै रहेको उनको अनुभव छ। “१० जना साङ्ग खेलाडीलाई खेलाउन जति खर्च लाग्छ, १० जना अपाङ्गता भएका खेलाडीलाई खेलाउन त्यसको दोब्बर खर्च लाग्छ,” उनी भन्छिन्, “तर बजेट चाहिँ उल्टो कम हुन्छ।”

यही अभाव र भाष्यका बीच मैदानमा उत्रिएका खेलाडीहरूको जीवनकथा अझ बलियो देखियो।

हिमाल अर्याल नेपाली सेनामा कार्यरत थिए। २०६० साल कात्तिक २९ गते द्वन्द्वकालीन समयमा एम्बुसमा परेपछि उनको स्पाइनल कर्डमा चोट पुग्यो। कम्मरमुनिको भाग पूर्ण रूपमा नचल्ने भयो। जीवन ह्विलचेयरसँग जोडियो। एक क्षणले उनको जीवनको बाटो बदलिदियो। तर त्यही ह्विलचेयर उनको यात्रा रोक्ने साधन बनेन, खेलकुदतर्फ डोर्‍याउने बाटो बन्यो।

हिमालले भारोत्तोलनबाट खेल यात्रा सुरु गरे। त्यसपछि बास्केटबल खेले, क्रिकेट खेले, सुटिङ वर्ल्डकपसम्म पुगे र अहिले सटपुटमा एसियन गेमको तयारी गरिरहेका छन्। “सुरुमा राष्ट्रलाई मेडल ल्याउँला भन्ने सोच थिएन,” उनी भन्छन्, “स्पाइनल भएपछि मानसिक रूपमा कमजोर भइन्छ। स्वास्थ्यका लागि खेलकुद रोजेँ। खेलकुदले लामो समय स्वस्थ रहन सहयोग गर्छ भन्ने लाग्यो।”

हिमालका लागि खेलकुद उपचार पनि हो, पहिचान पनि। स्पाइनल इन्जरी भएका व्यक्तिलाई लामो समय बसिरहँदा बेडसोर, युटीआईलगायतका समस्या हुने जोखिम हुन्छ। सक्रिय रहन खेलकुदले सहयोग गर्छ। तर खेलकुदले हिमाललाई शरीरको सक्रियता मात्र दिएन, समाजमा फर्किने आत्मसम्मान पनि दियो। “सायद म अपाङ्गता नभएको भए ड्युटी र घर–परिवारमै सीमित हुन्थेँ होला,” उनी भन्छन्, “तर आज राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा खेल्दा समाजले अपाङ्गता भए पनि राष्ट्रको झण्डा फहराउन सक्छ भन्ने देखेको छ।”

हिमालको परिवारले सुरुमा “जिन्दगी नै गयो” भन्ने चिन्ता गरेको थियो। तर अहिले उनी मेडल लिएर फर्कँदा परिवार खुशी हुन्छ। “अझै खेल्नुपर्छ भन्नुहुन्छ,” उनी सुनाउँछन्। जीवन सकियो भन्ने डरबाट देशको झण्डा फहराउने आत्मविश्वाससम्मको उनको यात्रा पारा खेलकुदले दिने दोस्रो जीवनको उदाहरण हो।

ह्विलचेयर बास्केटबलका खेलाडी डम्बर बहादुर मगरको कथा पनि यही आत्मविश्वाससँग जोडिन्छ। चार वर्षको उमेरमा वर्षायाममा चिप्लिएर लडेपछि उपचार ढिलो भयो। त्यसपछि उनको खुट्टा घुँडाभन्दा तलबाट काट्नुपर्‍यो। अहिले उनी आर्टिफिसियल लेग प्रयोग गर्छन् र ह्विलचेयर बास्केटबल खेल्छन्। उनले जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् र राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।

“सुरुमा अपाङ्गता भएपछि समाजमा घुलमिल हुनै गाह्रो हुन्छ,” डम्बर भन्छन्, “बाहिर निस्कँदा अरूले के सोच्लान् भन्ने लाग्थ्यो। तर खेलकुदमा लागेपछि आफूजस्तै साथी भेटिए, मोटिभेसन भयो।” उनीहरूकै पहलमा क्लब स्थापना भयो। स्कुल–कलेजमा फ्रेन्डली म्याच र अन्तरक्रिया हुन थाले। खेलकुद उनको मात्र होइन, अरूलाई पनि प्रेरित गर्ने माध्यम बन्यो।

तर डम्बरको मुख्य गुनासो ह्विलचेयरमै छ। खेल्न चाहिने स्पोर्ट्स ह्विलचेयर विदेशबाट मगाउनुपर्छ। महँगो पर्छ। बिग्रिएपछि मर्मत र प्रतिस्थापन कठिन हुन्छ। “नेपालमा सन् २००८ तिरदेखि ह्विलचेयर बास्केटबल सुरु भयो, तर सरकारले अहिलेसम्म एउटा टिमका लागि १५ वटा ह्विलचेयर दिनुपर्छ भनेर दिएको छैन,” उनी भन्छन्। हरेक प्रदेशले नियमित प्रतियोगिता गरून्, राष्ट्रिय स्तरका खेल सञ्चालन होऊन् र अन्तर्राष्ट्रिय सहभागिताका लागि सरकारले खर्च र तयारीमा साथ देओस् भन्ने उनको माग छ।

राधिका धितालको जीवनमा पनि ह्विलचेयर बास्केटबलले समाजको नजर बदलिदिएको छ। सिन्धुपाल्चोक मेलम्चीकी राधिका २०५६ सालमा घाँस काट्न जाँदा भीरबाट लडिन्। स्पाइनल इन्जरी भएपछि २६ वर्षदेखि उनी ह्विलचेयरको सहारामा छिन्। विवाहित जीवन, बच्चा र परिवारबीच दुर्घटनापछिको अवस्था उनका लागि सहज थिएन। “हिँड्न सक्दा पाएको व्यवहार र ह्विलचेयरमा आएपछि पाएको व्यवहार फरक भयो,” उनी भन्छिन्, “कसैलाई लाग्यो, अब काम लाग्दिनँ होला। तर मैले आत्मबल बढाएँ, केही गर्नुपर्छ भनेर अघि बढेँ।”

राधिका १२–१३ वर्षदेखि बास्केटबल खेल्दै आएकी छन्। ओखलढुंगा, पोखरा, बुटवललगायतका ठाउँमा खेल्न पुगेकी छन्। मेडल र प्रमाणपत्र लिएर फर्किएपछि समाजको दृष्टिकोण फेरिएको उनी सुनाउँछिन्। “पहिला यस्तो मान्छे कसरी खेल्छ भन्नेहरू अहिले ‘हामीले गर्न नसकेको काम यिनीहरूले गरे’ भन्न थालेका छन्,” उनी भन्छिन्।

तर खेलाडीका रूपमा उनको पीडा अझै बाँकी छ। प्रतियोगितामा सहभागी हुन उनी बिहान ५ बजे घरबाट हिँडेकी थिइन्। लामो समयसम्म खाजा नपाएको र घाममा खेल्नुपरेको अनुभव उनले सुनाइन्। “खेल खेलाउने भनेर मात्रै हुँदैन, व्यवस्थापन पनि राम्रो हुनुपर्छ,” उनी भन्छिन्। उनका अनुसार खेलाडीलाई गाडी, सहयोगी, स्पोर्ट्स ह्विलचेयर, अपाङ्गमैत्री शौचालय र सहज खेलस्थल चाहिन्छ। “हामीलाई बोकेर गाडीमा राख्नुपर्छ, बोकेर झार्नुपर्छ। ट्वाइलेट पनि भनेजस्तो छैन,” उनी भन्छिन्।

यी अनुभवले पारा खेलकुदमा सम्भावना मात्र होइन, संरचनागत कमजोरी पनि देखाए। खेलाडी मैदानमा पुग्न तयार छन्, तर मैदान उनीहरूका लागि तयार छैन। उनीहरू खेल्न तयार छन्, तर सामग्री, यातायात, प्रशिक्षण र व्यवस्थापन अझै पर्याप्त छैन। यही अवस्थामा प्रदेश सरकार भने पारा खेलकुदलाई प्राथमिकतामा राख्ने दाबी गर्छ।

बागमती प्रदेशकी खेलकुद मन्त्री अर्मिला नेपाली पारा खेलकुदलाई मार्मिक र संवेदनशील विषयका रूपमा लिनुपर्ने बताउँछिन्। उनका अनुसार अपाङ्गता भएका खेलाडीहरूमा “अरू खेलाडीसरह म पनि खेल्न सक्छु” भन्ने शक्ति जगाउन प्रदेश सरकार गम्भीर छ। गौरीटार रंगशालासहितका संरचनामा पारा खेलकुदलाई पनि समेट्ने लक्ष्य रहेको उनले बताइन्। “खेलकुद मनोरञ्जनको साधन मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा प्रदेश र देशको नाम राख्ने माध्यम हो,” मन्त्री नेपालीको भनाइ छ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा पारा खेलकुदलाई कार्यक्रम मात्र होइन, नीतिमै समेट्नुपर्ने बताउँछन्। उनले बागमती प्रदेशको खेल नीतिमा साङ्ग र अपाङ्ग खेलाडीबीचको भेद हटाउने दृष्टिकोण राखिएको बताए। “सबै खेलाडी एउटै हुन् भन्ने ढाँचाले खेल नीतिमा स्पष्टता गरेका छौँ,” उनी भन्छन्। उनका अनुसार पारा खेलाडीका लागि भौतिक पूर्वाधार मात्र होइन, आवास, यातायात, सांकेतिक भाषा, सहयोगी र मनोवैज्ञानिक पक्षसमेत फरक ढंगले सोच्नुपर्छ।

लामा पारा खेलाडीले खेलकुदबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु दीर्घकालीन लक्ष्य भएको बताउँछन्। त्यसका लागि स्थानीय तह, प्रदेश र संघबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ। “खेलेर बाँच्न सक्ने, खेलेर खान सक्ने अवस्थाका लागि बागमती प्रदेशले छुट्टै खेल नीति बनाउँदै छ,” उनी भन्छन्। तर नीति बनेर मात्र पुग्दैन। त्यसले खेलाडीको ह्विलचेयरसम्म पुग्नुपर्छ।

ह्विलचेयर बास्केटबलका प्राविधिक प्रमुख प्रेम सुन्दर होना संरचना र सामग्रीकै अभावलाई मुख्य चुनौती मान्छन्। उनका अनुसार प्रशिक्षण हप्तामा एक दिन मात्र हुन्छ। धेरै कोर्ट ह्विलचेयरका लागि पहुँचयोग्य छैनन्। स्पोर्ट्स ह्विलचेयर नेपालमा पाइँदैन, महँगो छ। शौचालय, चेन्जिङ रुम र ह्विलचेयर राख्ने ठाउँ नै छैन। “सुरुवातका लागि ठूलो रंगशाला नै चाहिन्छ भन्ने होइन,” उनी भन्छन्, “स्थानीय सरकारले एक्सेसिबल कोर्ट, वासरुम र ह्विलचेयर राख्ने ठाउँको व्यवस्था गरे खेलाडी नियमित अभ्यासमा आउन सक्छन्।”

प्रेमका अनुसार नेपाली महिला ह्विलचेयर बास्केटबल टोलीमा राम्रो सम्भावना छ। नियमित प्रशिक्षण, डाइट, यातायात खर्च, फिजियो र प्राविधिक सहयोग पाए दक्षिण एसियामै राम्रो प्रदर्शन गर्न सकिन्छ। उनका अनुसार पारा खेलाडीका लागि टेक्निक र स्किल मात्र होइन, शरीरको अवस्था अनुसार फिजियो, पोषण र मनोबल पनि प्रशिक्षणकै हिस्सा बन्नुपर्छ।

दृष्टिबिहीन क्रिकेटका खेलाडी भरत चौलागाईंको आवाजमा उपलब्धिको गर्व र उपेक्षाको पीडा दुवै सुनिन्छ। उनी शिक्षक हुन् र करिब १० वर्षदेखि राष्ट्रिय टोलीसँग आबद्ध छन्। नेपालको दृष्टिबिहीन क्रिकेट टोली विश्वकपको सेमिफाइनलसम्म पुगेको छ। उनी भन्छन्, “मलाई मैले भन्दा पनि क्रिकेटले यहाँसम्म ल्यायो।” तर उनको अर्को वाक्यले नेपाली पारा खेलकुदको अवस्थालाई चिरिदिन्छ।

“मेन टिम सेमिफाइनल पुगिसक्यो, वुमन टिम वर्ल्डकपमा फाइनलसम्म पुग्यो, तर हाम्रो क्रिकेट अझै च्यारिटी बेसमा चल्नु दुःखको कुरा हो,” भरत भन्छन्। उनका अनुसार खेलाडीले खेल खेलेर कम्तीमा आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था बन्नुपर्छ। “बेसिक निड्स पूरा गर्न सक्छन् भन्ने महसुस गराउनुपर्छ,” उनी भन्छन्, “त्यसो भयो भने अहिलेभन्दा राम्रो खेलाडी आउँछन्।”

राज्यप्रति उनको प्रश्न तीव्र छ, “कहाँ गयो मेरो खेलाडी भनेर सरकारले खोज्नुपर्दैन?” केही पूर्व खेलाडी जीविकाका लागि सडकमा गीत गाउन बाध्य भएको उदाहरण दिँदै उनी खेलाडीको दीर्घकालीन संरक्षणको माग गर्छन्। उनका अनुसार दृष्टिबिहीन क्रिकेटलाई स्थानीय तहदेखि प्रदेश र संघसम्मले योजनाबद्ध रूपमा समेटे नयाँ खेलाडी उत्पादन हुन सक्छन्। तर त्यसका लागि खेलाडीलाई खोज्ने राज्य चाहिन्छ।

दृष्टिबिहीन क्रिकेटको यो संघर्ष पुरुष टोलीमा मात्र सीमित छैन। महिला खेलाडीहरूको कथा अझ बलियो छ। चितवनकी लक्ष्मी लामा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनी पहिलो ब्लाइन्ड वुमेन्स टी–ट्वान्टी वर्ल्ड कपमा नेपालको प्रतिनिधित्व गर्दै बी–वान क्याटागोरीबाट मुख्य बलरका रूपमा खेलेकी थिइन्। उक्त प्रतियोगितामा नेपाल उपविजेता बन्दै फाइनलसम्म पुगेको थियो।

लक्ष्मीका लागि क्रिकेट देखेर खेल्ने खेल होइन, सुनेर बुझ्ने र आत्मबलले अघि बढ्ने खेल हो। “हामीसँग दृष्टि हुँदैन, हामीले सुनेर खेल्नुपर्ने हुन्छ,” उनी भन्छिन्, “शारीरिक बनावटका हिसाबले पनि हाम्रो लागि यो फरक र चुनौतीपूर्ण छ।” आर्थिक अवस्था, भौगोलिक दूरी र नियमित अभ्यासको अभावबीच पनि महिला खेलाडीहरूले देशलाई विश्वकपको फाइनलसम्म पुर्‍याएको उनको भनाइ छ।

तर यो उपलब्धिपछि पनि सम्मान र संरक्षणको प्रश्न बाँकी छ। “हामी दृष्टिविहीन महिला खेलाडी हौँ, धेरै सपना बोकेर गएका थियौँ,” लक्ष्मी भन्छिन्, “विश्वकप खेलेर देशलाई फाइनलसम्म पुर्‍यायौँ, विदेशी भूमिमा देशको झण्डा फरफराएर आयौँ। अब सरकारले हाम्रो सम्मानमा एकपटक हेरिदियोस्।” उनको माग ठूलो छैन। खेलाडीको मेहनत, देशका लागि गरेको प्रतिनिधित्व र भविष्यका लागि चाहिने आधारभूत सहयोगलाई राज्यले बुझिदियोस् भन्ने मात्र हो।

लक्ष्मीको आवाजले पारा खेलकुदको अर्को सत्य देखाउँछ ।  महिला खेलाडीले अपाङ्गता, आर्थिक अभाव, अभ्यासको कमी र पहिचानको संघर्ष एकैसाथ झेल्नुपर्छ। तर ती सबै चुनौतीका बीच उनीहरूले विश्वमञ्चमा नेपालको नाम पुर्‍याएका छन्। त्यसैले दृष्टिबिहीन क्रिकेटको कथा भरत चौलागाईंको पीडाबाट मात्र पूरा हुँदैन । लक्ष्मी लामाजस्ता महिला खेलाडीको आत्मबलले त्यसलाई अझ फराकिलो बनाउँछ।

ब्याडमिन्टनतर्फ रेफ्री सन्तोष कुमार पन्तका लागि पनि यो प्रतियोगिता नयाँ अनुभव थियो। उनका अनुसार पारा ब्याडमिन्टन प्रतियोगितामा पाँच महिला र पाँच पुरुष गरी १० खेलाडी सहभागी थिए। केही खेलाडी सुन्न र केही बोल्न नसक्ने भएकाले दुभाषेको व्यवस्था गरिएको थियो। “नेपालमा पारा ब्याडमिन्टनको यो पहिलो प्रतियोगिता हो,” उनी भन्छन्, “असहज भएका व्यक्तिहरूलाई प्रतिभा देखाउने मौका दिनु राम्रो सुरुवात हो।”

पन्तको अनुभवले देखाउँछ, पारा खेलकुदमा कोर्ट र सामग्री मात्र होइन, सञ्चार पनि अपाङ्गमैत्री हुनुपर्छ। बोल्न र सुन्न नसक्ने खेलाडीका लागि संकेत भाषा, दुभाषे र संवेदनशील व्यवस्थापन अनिवार्य हुन्छ। खेलाडीको अवस्था अनुसार प्रतियोगिता सञ्चालन गर्न सकिए मात्र उनीहरूले आफ्नो क्षमता पूरा रूपमा देखाउन सक्छन्। नत्र अवसर पनि अधुरो हुन्छ।

समस्या खेलाडीमा होइन, संरचनामा छ। खेलाडी तयार छन्, मैदान तयार छैन। आत्मबल छ, तर पूर्वाधार छैन। उपलब्धि छ, तर स्थायी नीति र संरक्षण कमजोर छ। प्रतिभा छ, तर सामग्री छैन। इच्छा छ, तर नियमित प्रशिक्षण छैन। यही अन्तरले पारा खेलकुदको वास्तविक चुनौती देखाउँछ।

पारा खेलकुद अघि बढाउन अपाङ्गमैत्री रंगशाला, कभर्ड हल, कोर्ट, शौचालय, यातायात, विशेष खेल सामग्री, प्रशिक्षक, फिजियो, डाइट, बीमा र नियमित प्रतियोगिता अनिवार्य छन्। त्योभन्दा ठूलो कुरा समाजको सोच बदल्न जरुरी छ। अपाङ्गता भएका खेलाडीलाई दया होइन, अवसर चाहिन्छ। सहानुभूति होइन, संरचना चाहिन्छ। भाषण होइन, अभ्यास गर्ने मैदान चाहिन्छ। पारा खेलकुद खेल मात्र होइन। यो जीवनसँगको संघर्ष हो। यो आत्मबलको प्रमाण हो। यो समान अवसरको आवाज हो। र यो राष्ट्रको गौरव हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img