देशबागमती प्रदेशबागमतीमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा किरण थापा अघि सारिए

बागमतीमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीमा किरण थापा अघि सारिए

spot_img

हेटौँडा | बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेकपा एमालेले प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले संसदीय दलका नेता जगन्नाथ थपलियालाई यथावत् राख्दै थापा मगरलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री पदका लागि आगामी भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न सकिनेछ।

एमाले–नेकपा गठबन्धनको तयारी

नयाँ सत्ता समीकरणअनुसार एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयुक्त रूपमा बागमती प्रदेश सरकार गठनको तयारी गरेका छन्। दुई दलबीच भएको सत्ता साझेदारीको समझदारीअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तयारी छ।

त्यसैअनुसार एमालेले मुख्यमन्त्रीको उम्मेदवारका विषयमा पार्टीभित्र देखिएको विवाद समाधान गर्दै थापा मगरलाई अघि सारेको हो।

यसअघि एमाले संसदीय दलका नेता थपलियालाई हटाएर थापा मगरलाई दलको नेता बनाउन माग गर्दै एमालेका १६ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। संसदीय दलको नेतृत्व र भावी मुख्यमन्त्रीका विषयमा विवाद बढेपछि एमालेका शीर्ष तथा प्रदेशस्तरीय नेताहरूले पटक–पटक छलफल गरेका थिए।

मंगलबारको संसदीय दलको बैठकबाट थपलियालाई संसदीय दलको नेतामै कायम राख्ने र मुख्यमन्त्रीमा थापा मगरलाई अघि सार्ने निर्णय भएपछि एमालेभित्र तत्कालका लागि देखिएको नेतृत्व विवाद समाधान भएको छ।

बहुमतका लागि अझै दुई सांसद अपुग

थापा मगरलाई मुख्यमन्त्री नियुक्तिका लागि भने सत्ता गठबन्धनले थप प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने अवस्था छ।

हाल १०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी दुई दलसँग ५१ प्रदेशसभा सदस्य छन्। बहुमत पुर्‍याउन गठबन्धनलाई थप दुई प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई प्रदेशसभा सदस्य छन्।

आवश्यक बहुमत जुटाउन एमालेले राप्रपासहित अन्य दलसँग संवाद अघि बढाउने तयारी गरेको छ।

राप्रपाले यसअघि बागमती प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीबाट अर्को निर्णय नभएसम्म तटस्थ रहने निर्णय गरेको थियो। एमालेले भने मंगलबारको बैठकबाट राप्रपालगायत दललाई नयाँ सरकार गठनमा समर्थन तथा सहभागिताका लागि आग्रह गर्ने निर्णय गरेको सचिव बस्नेतले बताए।

यसअघि एमालेको समर्थनमा सरकार सञ्चालन गर्दै आएका मुख्यमन्त्री बानियाँ एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका थिए।

बानियाँको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

अब एमाले र नेकपाले आवश्यक थप समर्थन जुटाएर प्रदेश प्रमुखले दिएको समयसीमाभित्र किरण थापा मगरको नेतृत्वमा सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन्। आवश्यक ५३ प्रदेशसभा सदस्यको समर्थन जुटे थापा मगर बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img