फिचरहेटौँडा अस्पतालमा एनआईसीयू सञ्चालनपछि नवजात शिशु रिफर घट्ने अपेक्षा

हेटौँडा अस्पतालमा एनआईसीयू सञ्चालनपछि नवजात शिशु रिफर घट्ने अपेक्षा

spot_img

हेटौँडा | हेटौँडा अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालनमा आएपछि प्रसूतिको क्रममा जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुलाई उपचारका लागि चितवन तथा काठमाडौँलगायतका अस्पतालमा रिफर गर्नुपर्ने क्रम घट्ने अपेक्षा गरिएको छ।

अस्पतालले पाँच शय्याको एनआईसीयू र पाँच शय्याको बाल सघन उपचार कक्ष (पिआईसीयू) सञ्चालनमा ल्याएसँगै जटिल अवस्थाका नवजात शिशु तथा बालबालिकाको उपचार हेटौँडामै गर्न सहज भएको हो।

अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काका अनुसार यसअघि एनआईसीयू नहुँदा जटिल स्वास्थ्य अवस्था भएका नवजात शिशुलाई अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो। अब जन्मिने क्रममा श्वास फेर्न कठिन भएका, गम्भीर संक्रमण देखिएका, शरीरमा ग्लुकोजको मात्रा अत्यधिक घटेका, मेनिन्जाइटिस भएका तथा निरन्तर निगरानी आवश्यक पर्ने नवजात शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्न सकिने उनले बताए।

“एनआईसीयू सञ्चालनपछि प्रसूतिको क्रममा जटिलता देखिएका शिशुलाई तत्काल उपचार गर्न सकिन्छ। यसले अनावश्यक रिफर घटाउन सहयोग पुग्छ,” डा. खड्काले भने।

हेटौँडा अस्पतालमा पछिल्लो एक वर्षमा दुई हजार ८९२ गर्भवतीले प्रसूति सेवा लिएका छन्। अस्पतालमा प्रसूति हुनेमध्ये करिब चारदेखि पाँच प्रतिशत नवजात शिशुलाई सघन उपचार आवश्यक पर्न सक्ने डा. खड्काले जानकारी दिए। एनआईसीयू सञ्चालनसँगै प्रसूति सेवासँगै नवजात शिशु स्याहारको गुणस्तरमा समेत सुधार हुने अस्पतालको अपेक्षा छ।

डा. खड्काका अनुसार जन्मेदेखि २८ दिनसम्मका जटिल अवस्थाका शिशुलाई एनआईसीयूमा राखेर उपचार गरिनेछ। २८ दिनभन्दा माथि १४ वर्षसम्मका गम्भीर बिरामी बालबालिकालाई भने पिआईसीयूमा उपचार गरिनेछ।

सर्पदंशका कारण बेहोस भएका, जटिल दम देखिएका, श्वासप्रश्वासमा समस्या भएका तथा फोक्सो र मुटुसम्बन्धी गम्भीर समस्या भएका बालबालिकालाई पिआईसीयूमा राखेर उपचार गर्न सकिने उनले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार एनआईसीयूमा दुई भेन्टिलेटर र दुई इन्क्युबेटरसहित फोटोथेरापी, सिप्याप मेसिन, बालबालिकाका लागि डिफिब्रिलेटर र एबीजी मेसिनलगायतका उपकरणको व्यवस्था गरिएको छ।

अस्पतालको बालरोग विभागमा पाँच जना बालरोग विशेषज्ञ कार्यरत छन्। दुई जना आवासीय चिकित्सक र चार जना मेडिकल अधिकृतलाई एनआईसीयू तथा पिआईसीयूमा सेवा दिने गरी खटाइएको छ। मेडिकल अधिकृत र नर्सिङ कर्मचारी २४ सै घण्टा रहने तथा विशेषज्ञ चिकित्सकले आवश्यकताअनुसार बिरामीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

एनआईसीयू र पिआईसीयूलाई सातदेखि आठ शय्यासम्म विस्तार गर्न सकिने भए पनि हाल उपलब्ध जनशक्ति र स्वीकृत क्षमताअनुसार पाँच–पाँच शय्याबाट सेवा सुरु गरिएको डा. खड्काले बताए।

उनका अनुसार शय्या थपेर मात्र सघन उपचार सेवा विस्तार गर्न सकिँदैन। सेवा विस्तारका लागि विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा तालिमप्राप्त नर्सिङ जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको छ।

विशेष किसिमको मुटु तथा फोक्सोसँग सम्बन्धित उपचार आवश्यक पर्ने तथा लामो समयसम्म सघन उपचारमा राख्नुपर्ने अत्यन्त जटिल अवस्थाका शिशु तथा बालबालिकालाई भने सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने डा. खड्काले स्पष्ट पारे।

मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाका अनुसार एनआईसीयू सेवा हाल स्वास्थ्य बीमाको दायरामा समावेश छैन। सेवाग्राहीलाई धेरै आर्थिक भार नपर्ने र अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्न सक्ने गरी शुल्क तथा उपचार प्याकेज निर्धारण गर्न अन्य सरकारी अस्पतालको अभ्यासबारे अध्ययन भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img