हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार बालिकालाई बगाउँदा एक जनाको मृत्यु भएको छ। एक बालिका आफैँ खोला बाहिर निस्कन सफल भएकी छन् भने दुई जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ५:५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा खोलामा बनेको लच्का तर्दै गर्दा उनीहरूलाई बासुदेव खहरेले बगाएको हो।
खोलाले बगाएकी हेटौँडा–१९ बस्तिपुरका दीप स्याङ्तानकी करिब ८ वर्षीया छोरी रोसनी स्याङ्तान बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सोही स्थानका टीकाराम भोलनकी करिब ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी करिब १२ वर्षीया छोरी बिनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।
सिताराम भोलनकी करिब १३ वर्षीया छोरी सिमा भोलन भने आफैँ खोलाबाट बाहिर निस्कन सफल भएकी छन्। उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा २० जनाको प्रहरी टोली खोजीमा खटिएको छ।
थप खोज तथा उद्धारका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको कमाण्डमा ११ जनाको टोली, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौँडाबाट सशस्त्र प्रहरी उपरीक्षक निवनकुमार खड्काको कमाण्डमा १७ जनाको टोली तथा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ता दुई बालिकाको खोजी तथा उद्धार कार्य जारी छ।




