हेडलाईनस्थानीय तह उपनिर्वाचन: कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

स्थानीय तह उपनिर्वाचन: कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ३७ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेसले १६ स्थानमा जित हासिल गर्दै पहिलो स्थान कायम गरेको छ। माओवादी केन्द्रले ८ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जित निकालेको छ।

निर्वाचनमा कांग्रेसले वडाध्यक्षदेखि नगरपालिकाको विभिन्न पदमा जित हासिल गरेको छ। कीर्तिपुर नगरपालिकाको मतगणनामा समेत कांग्रेसकै अग्रता देखिएको छ। माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र छ वडामा जित हासिल गर्दै दोस्रो स्थानमा रहँदा एमालेले पनि एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडामा जित हात पारेको छ।

यसका साथै जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँमा वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारले पनि एक-एक स्थानमा जित हासिल गरेका छन्।

कांग्रेसका उम्मेदवारले विभिन्न महत्वपूर्ण स्थानहरूमा जित निकालेका छन्। मकवानपुरको हेटौंडा-१२ मा अर्जुनप्रसाद तिवारी, कीर्तिपुर-१ मा इच्छाकुमार महर्जन, गुल्मीको मुसिकोट-१ मा आनन्द श्रेष्ठ, रुकुम पश्चिमको सानीभेरी-५ मा मोतिराम खत्री, र दार्चुलाको दुहुँ-५ मा धनसिंह कुँवर विजयी भएका छन्।

माओवादी केन्द्रले उदयपुरको त्रियुगा-१२ मा नवीनकुमार बान्तवा राई, धनुषाको धनुषाधाम-१ मा सुनिल कापर, नुवाकोटको ककनी-२ मा कृष्ण घिमिरे, र जाजरकोटको नलगाड उपमेयर पदमा देवका लामिछानेलाई विजयी बनाएको छ।

एमालेतर्फ ताप्लेजुङको सिरिजंघा-३ मा कुमारी सावादेन, ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा गंगाबहादुर तामाङ, र महोत्तरीको रामगोपालपुर-२ मा सकिबुल खाँ विजयी भएका छन्।

जसपाले सप्तरीको डाक्नेश्वरीका दुई वडामा विजय हात पारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठले काठमाडौं-१६ मा जित हासिल गरेकी छन्। एकीकृत समाजवादीबाट बजरंगीप्रसाद यादवले रौतहटको गढीमाई-८ मा विजय प्राप्त गरेका छन्।

निर्वाचनको बाँकी चार स्थानको मतगणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आइतबार सम्पन्न मतगणनाको नतिजाले राजनीतिक दलहरूको शक्ति सन्तुलनलाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img